खरसाङ शहर सहित संग्लग्न क्षेत्रमा बाँदरको उत्पात यथावत् तापनि कुनै पनि विधानसभा चुनावका उम्मेदवारहरूले उक्त समस्याबारे नबोलेको कतिपय मानिसहरूले गुनासो व्यक्त गरेको छन्।
आगामी 23 अप्रेलमा पहाड़को तिनैवटा आसन सहित खरसाङ्मा पनि विधानसभाको चुनाव हुनु गइरहेको छ यस विधानसभा निर्वाचन क्षेत्रमा मानिसहरूसित सम्बन्धित वा मानिसहरूको हितमा विभिन्न विषयहरू स्थानीय उम्मेदवारहरूले उठाइरहेको भए पनि खरसाङ शहर सहित संग्लग्न क्षेत्रमा मानिसहरूले भोग्दै गरेको बाँदरको समस्यालाई सबै उम्मेदवारहरू नै पन्छाएको देखिएको छ। यद्यपि, बाँदरको समस्या खरसाङ शहरसंगै संग्लग्न गाउँ-बस्तीमा पनि विस्तारै बढ्दै गइरहेको छ।
खरसाङ निवासी स्थानीय युवा कार्यकर्ता भूषण छेत्रीले जनाए अनुसार, अवश्य नै वर्तमानमा विधानसभाको चुनाव चलिरहेको छ अनि उक्त चुनाव कुनै नगरपालिकाको चुनाव त होइन। तर जुन प्रकारले विगत धेरै वर्षदेखि खरसाङ शहर संग्लग्न क्षेत्रमा जनमानसले बाँदरको समस्या भोगिरहेको छन्, उक्त समस्याको समाधानको निम्ति विधानसभा उम्मेदवारहरूले पनि बोल्न आवश्यक रहेको छ। कारण नगरपालिका अनि वन विभागले यतिको वर्ष बितिसक्दा पनि बाँदरको समस्याको समाधान गर्न सकेको छैन। नगरपालिका क्षेत्रमा वा शहर नजिकको विभिन्न गाउँ-बस्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरू पनि यस विधानसभा चुनावमा आफ्नो मत खसाल्ने गर्छन्। यी मानिसहरूको समस्या बुझ्न साथै ती समस्याको समाधान तर्फ कार्य गर्न पनि एकदमै आवश्यक रहेको छ।
खरसाङ क्षेत्रमा बाँदरको उपद्रवले वा बाँदरको आक्रमणले गर्दा विभिन्न वर्गका मानिसहरू साथै विभिन्न सरकारी, गैर सरकारी संस्थान, दोकान-पाट, स्कूल, कलेज अनि अस्पताल सहित बाल-बालिकाहरूले पनि बाँदरको समस्या भोग्दै छन्। त्यति मात्र होइन, सम्बन्धित निकायले विभिन्न पक्षका प्रतिनिधिहरूसंग विगतमा चर्चा-परिचर्चा गरे पनि, ठोस नीति, संयुक्त साथै सठिक पहलको अभावमा बाँदरको समस्या मानिसहरूले यथावत भोगिरहेका छन्। अर्थात् समस्याको गम्भीरतालाई पनि बुझ्दै एवं मध्य नजर राख्दै वर्तमान विधानसभाका उम्मेदवारहरूले पनि उक्त बाँदरको समस्यामाथि जनमानसलाई समाधानको भरोसा दिलाउनु अत्यन्त जरुरी रहेको छ।
ज्ञात रहोस्, खरसाङ्मा बाँदरको समस्या कुनै नौलो समस्या होइन, बाँदरको समस्याले प्रायः सबै वर्गका मानिसहरूले विविध समस्याहरू भोग्दै आईरहेको भए तापनि सम्बन्धित निकायबाट अहिले पनि कुनै ठोस पहल गरिएको छैन वा यस दिशामा ठोस परिणाम देखिएको छैन। जनमानसद्वारा यसरी नै बाँदरको उत्पातले विभिन्न समस्या भोग्ने क्रम जारी रहेको छ। बाँदरको कारण खरसाङ्मा विगतमा एकजना मानिसको मृत्यु भइसकेको छ भने प्रायः नै बाँदरको आक्रमणले विद्यार्थीसंगै अन्य मानिसहरू पनि घाइते भएका छन् तर पनि उक्त विषयमा सबै मौन देखिएको छन्। बाँदरको समस्यादेखि बाँच्नको निम्ति अहिले खरसाङ्का धेरै मानिसहरूले आफ्नो घरको बरण्डामा तारको जालीले बार्ने कार्य गरेका छन् भने झ्यालहरूमा फलामको ग्रीलहरू लगाएका छन्।












