खरसाङ विधानसभा समष्टिको लागि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उम्मेद्वार बन्दना राईले आफ्नो नामाङ्कन पत्र बुझाएकी छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रार्थी बन्दना राईको नामाङ्कन पत्र बुझाउन अघि पार्टीद्वारा खरसाङ्मा एक र्याली आयोजना गरिएको थियो। बिहीबार भारतीय जनता पार्टीका उम्मेद्वारले पूर्वाह्नको समयमा अनि इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उम्मेद्वारले मध्याह्नपछि नामाङ्कन पत्र बुझाएका थिए। उक्त ऱ्याली बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजारसम्म आयोजना गरिएको थियो भने मोटर स्ट्याण्डमा आएर चुनावी सभामा परिणत भएको थियो। उक्त चुनावी सभालाई इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय संयोजक अजय एडवर्ड्स र उम्मेद्वार बन्दना राईले सम्बोधन गरेका थिए। उक्त चुनावी सभापछि पङ्खाबारी रोड हुँदै खरसाङ महकुमा शासकको कार्यालय माथिल्लो रोडसम्म पुगेको थियो भने उम्मेद्वार बन्दना राईले आफ्नो नामाङ्कन पत्र बुझाएकी थिए।
यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स र उम्मेद्वार बन्दना राईले पहाड़मा परिवर्तनको लागि जनतालाई भोट दिने अपिल गरे। दुवैले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट यसपाली परिवर्तनको नाराको साथमा चुनाव मैदानमा उत्रेको बताए। आफ्नो नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै बन्दना राईले भनिन्, जनताको आशीर्वादले भष्ट्रचार मुक्त पहाड़को स्थापना गर्नेछैाँं। तपाईँहरूको बहुमूल्य भोट गोर्खाल्याण्ड हुनैपर्छ भन्नेलाई भोट दिनुहुन्छ कि गोर्खाल्याण्ड होवेना भन्नेलाई दिनु हुन्छ? हामीले जय गोर्खा,जय गोर्खाल्याण्डभन्दा गोर्खाहरूको भावनासँग खेल्यो भन्ने आरोप लगाउँछ। तर म गोर्खा हुँ, गोर्खाल्याण्ड मेरो जन्मसिद्ध अधिकार हो। बन्दना राईले अघि भनिन्, दार्जीलिङ पहाड़ले परिवर्तन खोज्दैछ, यो परिवर्तनको लहरमा तपाईँहरूको साथ अति नै जरूरी छ। परिवर्तनको मार्गमा हिंँड्दा तपाईँहरूलाई यदि कसैले डर र धम्की दिन्छ भने हामीलाई भन्नु होस, हामी त्यसको सही जवाफ दिनेछैाँं। पहाड़मा पढ़ेलेखेका युवा भाई-बहिनीहरू धेरै छन्। उच्च शिक्षा हासिल गर्नलाई उनीहरू पहाड़ छोड़ेर जानु बाध्य छन्। यहाँ रोजगारको कुनै व्यवस्था छैन। त्यसकारण रोजगारको निम्ति घर परिवार र पहाड़ छोड्न बाध्य बनिरहेका छन्। भोलिको सुन्दर पहाड़ बनाउनलाई यो परिवर्तनको मार्गमा तपाईँ हामी एकबद्ध हुन जरूरी छ। यो परिवर्तनको हाम्रो लक्ष्यलाई तपाईँहरूले साथ दिनु भयो भने खरसाङ साथै पहाड़ साफ हुनेछ, भष्ट्रचारमुक्त हुनेछ।आर्थिक अवस्थाले सम्पन्न पहाड़ हुनेछ।












