मैदानको संघर्षबाट नयाँ पुस्तालाई हौसला दिँदै जितेन राई

Authored By: सञ्जय प्रधान  

Share this news

खेलकुदको मैदानमा कति आउँछन्, कति जान्छन्- कतिपय नाम समयसँगै हराउँछन्, कतिपय सम्झनामा मात्र सीमित रहन्छन्। तर केही नामहरू आफ्नो संघर्ष र समर्पणले विशेष पहिचान बनाउँछन्। दार्जीलिङ पहाड़का त्यस्तै एक खेलाड़ी हुन्- जितेन राई। अनेक उतार-चढ़ाव पार गर्दै भारतका नामी क्लबहरूबाट खेलेर पहिचान बनाएका उनले आज नयाँ पुस्ताका खेलाड़ीहरूलाई मार्ग देखाउने काम गरिरहेका छन्।

‘‘लक्ष्य ठूलो राख्नुपर्छ- त्यसमा समर्पित, अनुशासित भएर पछ्याए मात्र लक्ष्यमा पुग्न सकिन्छ’’

स्व० मनबहादुर राई र स्व० मोती राईका छोरा जितेन सानैदेखि फूटबल-क्रिकेट खेल्थे। आमाबाबु दुवै बिजनबारी-८६ निवासी भए पनि नोकरीको सिलसिलामा सरुवा भई पुरुलियाको सन्तालदीमा थिए। जितेनको जन्म पनि उतै भयो। छोराको पढ़ाईका लागि सन् १९८० तिर खरसाङ मोन्टेभियटस्थित गान्धी ग्राममा बसाइँ सरे। जितेनले खरसाङकै पुष्परानी रोय मेमोरियल उच्चतर विद्यालयबाट शिक्षा हासिल गरे।

सानोमा उनी फूटबलभन्दा बढ़ी क्रिकेट मन पराउँथे। उनलाई हार्ड हिटर र पेश बलर भनिन्थ्यो। बाबुले खेलकुदमा धेरै हौसला दिन्थे। छोराले ट्रफी जितेर घर आउँदा बाबु निकै खुशी हुन्थे। स्कूल छुट्टि हुँदा आइतबार साथीहरू मिलेर अर्को गाउँसँग बेटिङ राखेर मोन्टेभियट मैदानमा फूटबल-क्रिकेट खेल्थे, जसले जोश अझ बढ़ाउँथ्यो। त्यस बेला खरसाङमा अहिलेको महकुमा अधिकारीको कार्यालय छेउको सानो मैदान (कचहरीको ग्राउण्ड भनिन्थ्यो)मा साना खेलाड़ीहरू (४ फीट ८ इन्च) का लागि फूटबल प्रतियोगिता हुन्थ्यो। सानोमा साथीहरू मिलेर डल्फिन क्लब खोले र पहिलो प्रतियोगिता यही मैदानमा खेले।

‘जेआर-थर्टीटु फूटबल एकाडेमी’बाट यसरी तयार हुँदैछ नयाँ पुस्ताका फूटबल खेलाड़ीहरू।

सन् १९८९ मा स्थापित भएको युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)का पूर्व फूटबल खेलाड़ी दिनकर छेत्रीको पारखी नजर जितेनमाथि पर्‍यो। दिनकर छेत्री भारतकै नामी क्लब ‘ईष्ट बेङ्गल’का पूर्व खेलाड़ी हुन्। सन् १९९५ मा दिनकर छेत्रीले यूकेएफसीमा बोलाएको जितेन बताउँछन्। क्रिकेट मन पराउने उनी फूटबल खेल्न क्लबमा लैजान्छ भनेर लुकी हिड़्थे, तर बाबुको दबावले यूकेएफसीमा पसे। १० कक्षामा हुँदादेखि यूकेएफसीमा ठूलाहरूको मार्गदर्शनमा खेल्न थाले, आफ्नो खेलको कौशलले जितेन सबैको आँखाको तारा बने। यूकेएफसीबाट फूटबलको यात्रालाई तेज रफ्तारमा बढ़ाउँदै खरसाङ, दार्जीलिङ, कालेबुङ, गान्तोकतिर खेल्न थाले।

सन् १९९७ मा दार्जीलिङको एउटा प्रतियोगीतामा नेपालको नामी क्लब थ्री स्टारलाई हराएर यूकेएफसी विजयी बन्यो, यसमा उनले गोल हालेका थिए। कालेबुङमा पनि थ्री स्टारविरुद्ध खेल्दा जितेनले नै गोल हाले। उनको खेल कौशलले थ्री स्टार क्लबले काठमाड़ौंमा बोलाएपछि त्यहाँ खेले। यूकेएफसीबाट उनले गान्तोकमा ‘इन्डिपेन्डेन्स कप’, ‘गभर्नर्स गोल्ड कप’ खेले, यी दुवै यूकेएफसीले जितेको थियो। सो बेला यूकेएफसीका खेलाड़ीहरू मैदानमा आगो दन्किएजस्तै दन्किन्थे भने जितेनले दार्जीलिङ पहाड़, सिक्किम, नेपालमा आफ्नो छाप बसालिसकेका थिए।

गान्तोकमा ‘गभर्नर्स गोल्ड कप’ खेल्दा भारतका नामी खेलाड़ी पूर्व कप्तान श्याम थापा जितेनको आक्रामक खेल देखेर प्रभावित भए। सो बेला श्याम थापा असमको विलियमसन् मेगर फूटबल एकेडेमीमा थिए, र उनले जितेनलाई त्यहाँ बोलाए। सोही बेला नेपालको काँकड़भिट्टामा खेल्दा भारतको नामी क्लब मोहन बगानका प्रतिनिधिहरूको नजर पर्दा घरमै लिन आउँदा आफू पलङ मुनि लुकेको बताउँछन्। सन् १९९८ देखि उनी विलियमसन् मेगर फूटबल एकाडेमीमा दुई वर्ष खेले।

विलियमसन् मेगर फूटबल एकाडेमीमा खेल्दा असममा जितेनले धेरै ख्याति कमाए। हरेक प्रतियोगितामा विपक्षी टोलीका खेलाड़ीहरूले राइट विङ्गर जितेनलाई घेराबन्दीमा पारेर रोक्ने प्रयास गर्थे, तर उनको गोल रोक्न सक्दैनथे। सन् १९९९ मा मणिपुरको इम्फालमा भएको ‘नेशनल गेम्स’मा असमलाई प्रतिनिधित्व गरेर खेले। त्यहाँ खेल्दा ‘इण्डिया टिम’का लागि बोलाहट आएपछि सोही वर्ष ‘इण्डिया युथ टिम’बाट भारतको लागि मौरिससमा खेले। त्यहाँ खेल्दा मौरिससमै र फेरि ‘इण्डिया टिम’को लागि प्रस्ताव आउँदा जितेनले ईष्ट बेङ्गलमा खेल्ने निर्णय लिए। भारतमा फूटबलको मक्का मानिने कलकताका क्लबहरू ईष्ट बेङ्गल, मोहन बगान र मोहम्मदन स्पोर्टिङ क्लबमा खेल्ने सपना सबै खेलाड़ीको हुन्छ।

सन् २००१ देखि २००३ सम्म ईष्ट बेङ्गलमा उनले उत्कृष्ट खेल कौशल देखाए। सन् २००१ मा आई-लीग अण्डर नाइनटिनमा कप्तान बने, र टोलीलाई विजयी बनाए। सन् २००२-०३ मा पनि आई-लीग खेले। उनी भन्छन्, ‘‘कतिवटा राम्रो कुरा सम्हाल्न सकिँदैन- समयअनुसार हुन्छ। ईष्ट बेङ्गल-मोहन बगान भनेपछि इण्डिया टिम, अनि इण्डिया टिम भनेपछि ईष्ट बेङ्गल-मोहन बगान भन्ने लाग्थ्यो। कारण यी दुवै क्लबका बढ़ीजसो खेलाड़ीहरू इण्डिया टिममा हुन्थे।’’ ईष्ट बेङ्गलमा खेल्दा घानाका सुले मुसाह, रतन सिंह र बिजेन सिंह उनका घनिष्ट थिए।

ईष्ट बेंगलमा खेल्दा उनले ‘इण्डिया टिम’को प्रस्ताव पनि अस्वीकार गरेका थिए, कारण उनी सोच्थे ईष्ट बेंगल-मोहन बगान भनेको नै इण्डिया टिम हो। गोवामा सिनियर आई-लीगमा भास्कोविरुद्ध खेल्दा खुट्टामा चोट लाग्यो। छ महिना उपचाराधीन रहेपछि फेरि अभ्यास थाले। यसबीच आईटीआई बेंगलोरमा छवटा म्याच खेल्न गए। त्यहाँबाट फर्केपछि गोवाको डेम्पो स्पोर्ट्स क्लबमा खेले, तर चोटका कारण पहिलेझैँ खेल्न गाह्रो भयो।

गोवाबाट फर्केपछि यूकेएफसीमा फेरि खेले। सन् २००४ मा टलिगञ्ज अग्रगामीबाट आई-लीग खेलेर पाँच गोल गरे। राम्रो प्रदर्शनपछि मोहम्मदन स्पोर्टिङ क्लबमा सन् २००५ देखि २००६ सम्म खेले। सेकेण्ड डिभिजन आई-लीगमा उत्कृष्ट प्रदर्शन गर्दा जमशेदपुरमा ‘बेस्ट प्लेयर अवार्ड’ पाए। कलकता लीगमा पनि नौ गोल गरे।

मोहन बगानले प्रस्ताव दिँदाको मार्च २००६ को घटना उनी सम्झिन्छन्, ‘‘म घर जानलाई निस्किन लागेको थिएँ, त्यति नै बेला आठजना केटाहरू आयो। मलाई गाड़ीमा राखेर एउटा होटलमा लग्यो- खाने, बस्ने व्यवस्थासहित १२ दिनसम्म त्यहीं राख्यो, बाहिर निस्किन पाइनँ।’’  यसले गर्दा उनी मोहन बगानमा खेल्न पाएनन्। कारण त्यति बेला साइन गर्ने अवधि सकिएको उनी बताउँछन्।

भाइचुङ भोटियासित एउटै टिममा खेल्ने अवसर पाएनन्, तर विपक्षी टिमबाट विरुद्धमा भने जितेनले खेले। जितेनले भारतका चर्चित क्लबहरू कलकताको प्रयाग स्पोर्टिङ क्लब, एयर इण्डिया-मुम्बई, नयाँ दिल्लीको दिल्ली हिरोजमा खेलिसकेका हुन्। सन् २०११ देखि २०१६ सम्म भाइचुङ भोटियाको क्लब युनाइटेड सिक्किम फूटबल क्लबमा खेले।

सन् २०२२ देखि खरसाङमा उनले ‘जेआर-थर्टीटु फूटबल एकाडेमी’ खोलेर देशकै लागि अब्बल खेलाड़ीहरू तयार गर्न व्यस्त छन्। जेआर अर्थात जितेन राई अनि थर्टीटु अर्थात ३२ राख्नुको कारण यो उनको प्रिय जर्सी नम्बर हो। खरसाङको नयाँ बजारस्थित डब्ल्यूबीएनभीएफको मैदानमा ६ वर्षदेखि २० वर्षसम्मकाहरूलाई सिकाउँछन्। ‘‘मेरो फोकस केवल व्यक्तिगत रुपमा अब्बल दर्जाका खेलाड़ीहरू तयार गर्नु हो’’, उनी भन्छन्। ईष्ट बेंगल, मोहन बगान, मोहम्मदन स्पोर्टिङ क्लबजस्ता नामी क्लबहरूमा खेलाड़ीहरू पठाउने उनको सपना छ। ‘‘लक्ष्य ठूलो राख्नुपर्छ- त्यसमा समर्पित, अनुशासित भएर पछ्याए मात्र लक्ष्यमा पुग्न सकिन्छ’’, उनी भन्छन्।

सानो मैदानबाट शुरु भएको जितेन राईको यात्रा भारतका प्रतिष्ठित क्लबहरूबाट राष्ट्रिय स्तरमा पुगेको प्रेरणादायी यात्रा हो। संघर्ष, अनुशासन र अथक मेहनतले उनले आफ्नो पहिचान मात्र बनाएनन्, आज नयाँ पुस्ताका खेलाड़ीहरूलाई पनि सपना देख्न र त्यसलाई पूरा गर्न हौसला दिइरहेका छन्।

 


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ