दार्जीलिङ, 28 मार्च (निसं): आगामी विधानसभा चुनाउलाई निष्पक्ष, भयरहित सम्पन्न गराउनको लागि जिल्ला प्रशासन तयार रहेको छ। जसको लागि सम्पूर्ण तयारी गरिसकेको जिल्ला चुनाउ अधिकारी एवं जिल्लापाल हरिशङ्कर पनिकरले जानकारी गराएका छन्। निर्वाचन आयोगको दिशानिर्देशअनुसार आज यसै विषय लिएर उनले दार्जीलिङ जिल्लाका सम्पूर्ण चुनाउ अधिकारी, रिटर्निङ अफिसर तथा चुनाउसित सम्बन्धित अधिकारीहरूसित एक बैठक गरे। उक्त बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जिल्लापाल पनिकरले भने-निर्वाचन आयोगको निर्देशअनुसार नै आज चुनाउसित सम्बन्धित अधिकारीहरूसित बैठक गरिएको हो। जसमा निर्वाचन आयोगद्वारा जारी दिशानिर्देशहरू उनीहरूलाई जानकारी गराइएको छ। यो चुनाउलाई बुथ जामरहित, भयरहित, निष्पक्ष अनि डरबिना सम्पन्न गराउन सम्पूर्ण तयारी भइसकेको छ। यसलाई केन्द्र गरेर नै दार्जीलिङ जिल्लामा केन्द्रीय सुरक्षा तैनाथ भइसकेको छ। यसरी नै अहिलेसम्म दार्जीलिङ जिल्लामा 200 वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा चिन्हित गरिएको छ। स्मरण गराइन्छ, दार्जीलिङ पहाड़ी क्षेत्रका 3 वटा विधानसभा आसन क्रमैले दार्जीलिङ, खरसाङ अनि कालेबुङमा प्रथम चरणमा नै 23 अप्रेलको दिन मतदान हुने भएको छ। जसको लागि आगामी 30 मार्चदेखि नामाङ्कन पत्र पेश गर्न शुरू हुनेछ भने यसको लागि सम्पूर्ण तयारी भइसकेको छ।












