दार्जीलिङका जातीय सचेतक बनय तामाङले गोर्खाहरूलाई सुझाउ दिंदै आफ्नो भनाइ राखेका छन्। यसपटकको विधानसभा चुनावमा दार्जीलिङ, कालेबुङ र खरसाङका मतदाताहरूले केवल भोट मात्र हाल्ने होइन। बरु वर्षौंदेखिको ‘राजनैतिक प्रयोग’ विरुद्ध एउटा बलियो जनादेश दिनुपर्ने आवश्यकता छ।
भाजपालाई प्रश्न:
१७ वर्षको उधारो कहिलेसम्म नतिरी बस्ने ? दार्जीलिङ पहाडका मतदाताहरूले भाजपालाई भन्नसक्नुपर्छ – हामीले सन् २००९ देखि तपाईँहरूलाई संसदमा पठाएका छौँ तर हरेक चुनावमा ‘स्थायी राजनैतिक समाधान’ (पीपीएस) र ‘११ जातगोष्ठी’ को नारा सुन्दा-सुन्दा हाम्रा कान पाकिसके। दिल्लीको सत्तामा दशकौँ रहँदा पनि हाम्रो मुद्दा केवल ‘चुनाव चलखेल ‘ मा मात्र सीमित रहेको छ। हामीलाई अब आश्वासनको पोको होइन, परिणामको ठोस प्रमाण चाहिन्छ। यसैले दार्जीलिङ पहाड़को भोट भाजपाको पेवा चैं कदापि होइन।
गोजमुमोलाई प्रश्न:
अस्तित्व र आन्दोलनको सौदा कहिलेसम्म गर्ने ? दार्जीलिङ पहाडका मतदातायहरूले गोजमुमोलाई भन्न सक्नपर्छ – गोर्खाल्याण्डको भावना देखाएर दार्जीलिङ पहाड़लाई पटक-पटक आन्दोलनको भुङ्ग्रोमा हाल्यौ, तर कहिले भाजपा त कहिले तृणमूलसँगको सत्ता समीकरण बदल्दा-बदल्दै जनताको बलिदानलाई सस्तो बनाइददियौ। पार्टीको अस्तित्व जोगाउन सिद्धान्त बदल्ने राजनीति अब धेर दिन चल्दैन। पहाडका युवाहरूको भविष्य र रगतमाथि राजनीति गर्ने छुट अब कसैलाई छैन।
भागोप्रमोलाई प्रश्न :
व्यवस्था कि विवशता ? दार्जीलिङ पहाडका मतदाताहरूले भागोप्रमोलाई भन्नसक्नपर्छ – ‘विकास र व्यवस्था’ को कुरा गरिररहेका छौ, तर के त्यो विकास केवल केही व्यक्तिको झोली भर्ने साधन मात्र बनाउनुलाई मात्र हो ? राज्य सरकारसँगको निकटता पहाडको अधिकार ल्याउनका लागि हो कि आफ्नो कुर्सी जोगाउनका लागि हो ? जीटीएको नाममा केवल टालटुले काम गरेर जनताको मौलिक हक र चिनारीको मुद्दालाई ओझेलमा पार्ने प्रयास अब स्वीकार्य छैन।
यसपटकको चुनावमा दार्जीलिङ पहाडका मतदाताहरूले यी तीनै दलहरूलाई सीधा सन्देश दिनुपर्छ – भोट ‘भावुकता’ मा होइन, ‘जवाफदेहिता’ मा हुनुपर्छ। नेताको पछि लाग्नुभन्दापनि आफ्नो मुद्दाकोपछि लाग्नुहोस्। अधिकारको सौदाबाजी बन्द गर्नुहोस्।
- जसले चिनारी र स्थायी समाधानका लागि ठोस कदम चाल्छ, उसलाई मात्र समर्थन।
- युवा शक्तिको भुमिका: बेरोजगारी र चिया बगानका श्रमिकहरूको समस्याहरूलाई जसले प्राथमिकता दिन्छ, उसैको पक्षमा भोट।
दार्जिलिङ पहाड़ अब कसैको ‘भोट बैंक’ होइन, बरु सचेत नागरिकहरूको घर हो। यदि नेताहरूले बाटो बिराए भने, जनताले उनीहरूलाई बाटो देखाइदिनुपर्छ यस चुनावमा।
चुनावको मैदानमा अहिलेसम्म यी तीन दलहरू भएकोले तीन दलहरूलाई सम्बोधित गरिएको हो। अझै अरू दलहरू मैदान उत्रिसकेपछि त्यी दलहरूलेपनि प्रश्नहरू अवश्य आउनेछन्।












