Khemraj Sharma tribute Kalimpong
Khemraj Sharma tribute Kalimpong

जातीय सचेतक अनि लेखक डा. खेमराज शर्मा भौतिक शरीरमा रहनुभएन

Authored By: डा. दिवाकर प्रधान।

Share this news

उत्तर बङ्ग विश्वविद्यालयमा हामीले स्नातकोत्तर पढ्दा (१९८३-८५) वरिष्ठ मित्र खेमराज शर्मा हिमाली अध्ययन केन्द्रका शोधार्थी हुनुहुन्थ्यो। हामीले खेम दाजु भन्थ्यौँ, पछि धेर मिलेपछि भ्राता समूह बन्यो – ब्रदर ग्रुप। ब्रो भन्नुपर्ने त्यत्ति बेला।
पूर्व पाकिस्तानको युद्धमा पश्चिम पाकिस्तानबाट भारतले छिनेको तोप राखिएको पर सुरक्षा कार्यालय र विश्वविद्यालयको मुद्रणालयछेउ उहाँहरूको शोधार्थी आवास थियो। त्यहाँदेखि अलिपर साहित्यकार गुरु डा. तुलसीबहादुर छेत्री ‘अपतन’ र रसायणशास्त्रका वैज्ञानिक गुरु प्रो. भीमप्रसाद प्रधानका विश्वविद्यालय आवास थिए। हाम्रो पालामा भएको पार्वत्य विद्यार्थी सङ्घको चुनाउमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको थियो। राष्ट्रिय विद्यार्थी संगठनहरूको द्वन्द्वमा मध्यस्थता गर्न पार्वत्य विद्यार्थी सङ्घको महत् भूमिका हुन्थ्यो। खेमराजज्यूको नेतृत्वमा उत्तर बङ्ग विश्वविद्यालयमा पार्वत्य विद्यार्थी सङ्घको महत्त्व र उपयोगिता धेरै थियो। भानुजयन्तीसहित अरू सांस्कृतिक, साहित्यिक र क्रीड़ा धेरै हुन्थे।

त्यस बेला रिसर्च होस्टेलमा हाम्रा वरिष्ठहरू धेरै हुनुहुन्थ्यो – १. श्री सी.बी. सुनुवार (रसायणशास्त्र), सिक्किम सरकारी महाविद्यालयका उपाचार्य र पछि प्राचार्य, २. श्री इन्द्रविलास अधिकारी (अङ्ग्रेजी), त्रिभुवन विश्वविद्यालय, काठमाड़ौँ, ३. श्री टङ्क सुब्बा (समाजशास्त्र), पछि नेहु, शिलाङ र कुलपति, सिक्किम विश्वविद्यालय, ४. श्री रवीन्द्र छेत्री (उद्भिद्विज्ञान), पछि सिक्किम सरकारी महाविद्यालयका उपाचार्य, ४. श्री धनबहादुर खवास (रसायणशास्त्र), पछि रेशम विभागका अधिकारी, ५. श्री भरत राई (उद्भिद्विज्ञान), पछि कोलासिब कलेज, मिजोरमका उपाचार्य, ५. श्री खेमराज शर्मा (समाजशास्त्र), पछि श्रम मन्त्रालयमा अधिकारी।

त्यसै बेला १९८६-मा नञा रिसर्च हस्टेल बनियो। १९८७-देखि हामी नव शोधार्थी थपियौँ – १. श्री हर्कबहादुर छेत्री (उद्भिद्विज्ञान), वर्तमान नेता, २. श्री लवप्रसाद बास्कोटा (भूगोल), चुड़ाचनपुर कलेज, मणिपुरका उपाचार्य, ३. श्री रामकुमार थापा (भौतिकी), पाचुङ्गा विश्वविद्यालय, मिजोरमका डीन र पछि नाम्चीको अल्पाइन विश्वविद्यालयका उपकुलपति, ४. श्री ज्ञानचन्द्र सुब्बा, गैरीबाँस कुलैनबारीका महानिदेशक, ५. श्री ज्योतिप्रकाश तामाङ, पछि सिक्किम केन्द्रिय विश्वविद्यालयका कार्यवाहक कुलपति, ६. श्री रविन छेत्री (भौतिकी), पछि सिक्किम सरकारी महाविद्यालयका उपाचार्य र वर्तमान एनसीईआरटी-का प्रमुख परामर्शदाता, ७. श्री कृष्णराज घतानी (नेपाली), उबवि., ८. स्वयम्। शोधार्थी आवास नलिई शोध गर्नेहरू – ९. श्री प्रेम पोद्दार (अङ्ग्रेजी), पछि डेनमार्कमा उपाचार्य, बीचमा दार्जिलिङ पार्वत्य विश्वविद्यालयमा उपकुलपति, १०. श्री कल्याण प्रधान (प्राणीविज्ञान), पछि दार्जिलिङ सरकारी महाविद्यालयमा सहायकाचार्य। खेम दाइहरूले काम पाईकन शोधार्थी आवास छोड्नुभएपछि श्री दीपक छेत्री (सन्त जोसेफ्स महाविद्यालयका उपाचार्य), श्री राजेन्द्रप्रसाद ढकाल (उपाचार्य, खरसाङको महाविद्यालय र पछिप्राचार्य, कालेबुङ महाविद्यालय), श्री जस योञ्जन प्यासी (खरसाङ महाविद्यालयका उपाचार्य र पछि कालेबुङ महाविद्यालयका प्राचार्य), श्री माइक दत्त, सन्त पल्स स्कूलका शिक्षक।

हाम्रो शोधार्थी आवासछेउ भौतिकी विभागका प्रविधि प्रशिक्षक श्री पासाङ तामाङको विश्वविद्यालय आवास थियो। तामाङ जोजो हाम्रा छिमेकी अभिभावक हुनुहुन्थ्यो। उहाँकी छोरी अंशुमाला तामाङ र छोरो सुमन सानै थिए। हामीले हेर्दाहेर्दै अंशुले काशी हिन्दू विश्वविद्यालयबाट संगीतमा एमए र पीएच डी गरिन्, बीचमा सिक्किम विश्वविद्यालय र अहिले अमेरिकाको कुनै विश्वविद्यालयमा संगीत शिक्षिका बनिन्। सुमन बिम्पा अहिले कलकत्ताको एउटा कलेजमा प्राणीविज्ञानका सहायकाचार्य बनेका छन्। हाम्रो रासोबासो त्यहीँ हुन्थ्यो। नव शोधार्थी आवास अघिपट्टि रुख रोपेका थियौँ। हामी हुँदै हुर्किसकेका थिए। अहिले वन बनिसक्यो होला।

आज खेमराज शर्माको निधनमा पुराना मित्रहरूसित मर्म साझा गर्‍यौँ। १९८६-देखि गोर्खाल्याण्ड आन्दोलन चम्क्यो। आफूलाई आहुति दिनसम्म तत्पर हुन्थ्यौँ। समयको खेल। युवा मानसमा हामीलाई गोर्खाल्याण्ड भइहाल्छ भन्ने लाग्थ्यो। मनमा आवेग र संवेग कति थिए कति। वरिष्ठ मित्र भरत राईका भाइ किशेरलाई प्रहरीले मार्‍यो। हामी तात्तियौँ। छात्रावासमा बसेर पर्चा र लेखहरू लेख्थ्यौँ। गाउँतिर गई संगठनलाई सघाउँथ्यौँ। कालेबुङको गोलीकाण्डमा आहतहरूको उपचारमा सहयोग गर्थ्यौँ। विश्वप्रसिद्ध सशस्त्र र निशस्त्र आन्दोलनबारे पढ्थ्यौँ। लेख्थ्यौँ।

उहाँ आँटी मान्छे। मन नपरेका कुरा भनिहाल्ने, सके लेखेर सार्वजनिक गर्ने। बीचमा पिस्तोल चलाउन रहर गर्नुहुन्थ्यो। कति ग्रन्थमा यस्ता कुरा स्पष्ट लेखिदिनुभएको छ। जातले बाहुन हुनुहुन्थ्यो तर मनले सराबरा। बेलाबेला मतवालीलाई जस्तै रिस उठ्थ्यो। “तपाईँ त भट्टराई भएर पनि राई जस्तै हुनुहुन्छ” भन्थ्यौँ। उहाँ भन्नुहुन्थ्यो – “भारतमा गोर्खा जातमा बाँड़िनु हुँदैन, ठूला जातिले मिच्छन्। गोर्खा सर्वहाराको समाज हो, उँचनिच हुँदैन, हामी सराबरा छौँ, सबैका दु:खेसो एउटै छ।” हुन पनि उहाँले चियाबारी, कुलैनबारी, तेलखानी, कोइलाखानीमा काम गर्ने सबै जातका गोर्खा श्रमिकमाथि अध्ययन गर्नुभईकन सर्वहारा संज्ञा दिनुभएको छ। उहाँका ग्रन्थ धेर अङ्ग्रेजीमा हुनाले बाहिरका अध्येताहरूले धेर चिने तर वरिपरिका हामीले चिनेनौँ।

खेमराज शर्मा दाइसित धेरै संस्मरण छन्। छात्रावासमा गर्मी याममा पनि ५ नम्बरमा पङ्खा घुमाएर सिरक ओड़ीकन सुत्नुहुन्थ्यो। छक्क पर्ने हामीलाई भन्नुहुन्थ्यो – “हामी पाहाड़ेलाई सिरक नओड़ी निद्रा लाग्दैन।” छात्रावासमा उहाँको ३०५ नम्बर माथ्लो तलाको कोठा, ३०९-मा साथी रविन छेत्री, बीच तला २०७ र २०८ रवीन्द्र छेत्री दाजु र भरत राई दाजु। हर्क दाइ, कृष्णराजज्यू, म भुइँ तलामा। उहाँ फूटबल खेल्नुहुन्थ्यो, बाजा बजाउनुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो। झिल्के पनि हुनुहुन्थ्यो। हामी एमए-मा आउँदा हाम्री मित्रलाई मन पराउनुभएर प्रेम प्रस्ताव पनि राख्नुभएछ, अस्वीकृत हुँदा गीत रच्नुभईकन कार्यक्रममा सुनाउनुभयो। आन्दोलनकालमा एमए पढ्ने मेरी श्रीमती (त्यस बेलाकी प्रेमिका)-की सखी सरिता छेत्रीसित उहाँको गहिरो प्रेम बस्यो। ४० दिने गोर्खाल्याण्ड बन्दमा सेनाको गाड़ीमा भगाएर कालेबुङ लानुभयो। पछि बिहा गर्नुभईकन फेरि पढाउनुभयो। बीएड गराउनुभयो। आफूचाहिँ केन्द्र सरकारको श्रम मन्त्रालयमा अधिकारी पदमा चयनित हुनुभएपछि गीताञ्जलि एक्सप्रेसमा चढ्नुभई बङ्गलोरमा प्रशिक्षण लिन जानुभयो। उहाँकी धर्मपत्नी बाघदुगुरामा गुरुआमा बन्नुभयो। सेवाकालमा भारतमा जहाँजहाँ जानुभयो त्यहाँत्यहाँ गोर्खाजनबारे सर्वेक्षण र अध्ययन गर्नुहुन्थ्यो। ग्रन्थ लेख्नुहन्थ्यो। सेवाकालमै कदमतलाको दुर्गा मन्दिरपर घर बनाउनुभयो। त्यस बेला उहाँको घर पुग्न बारीका कान्लैकान्ला भएर जानुपर्थ्यो। अब त नगर बनेछ।

पहिले आफ्ना अग्रज गाउँले दाइ मानेका डा. टङ्कबहादुर सुब्बा (पछि प्रो. टङ्कबहादुर सुब्बा)-को अधीनमा हिमाली अध्ययन केन्द्रबाट शोध थाल्नुभएको थियो तर पछि कुरा नमिल्दा प्रो. भरको निदेशनमा विद्यावारिधि उपाधि लिनुभयो। सेवाकाललाई अधिकारीका रूपमा पदमाद प्रदर्शन गर्नमा लाग्नुको सट्टा अध्ययन, मनन, चिन्तन र लेखनमा लाग्नुभयो। धेरै ग्रन्थ लेख्नुभयो। अङ्ग्रेजीमा मात्र लेख्नुहुन्थ्यो तर सेवा निवृत्त हुनुभएपछि स्थानीय जनगणका लागि पत्रपत्रिकामा नेपालीमा लेखहरू छपाइदिनुभयो। सिलगढी देवकोटा सङ्घमा सदस्यता लिनुभयो। देवकोटा सङ्घले उहाँलाई चिनेको थियो, उहाँले देवकोटा सङ्घलाई चिन्नुभएको थियो।

आफ्नो जन्मथलो कालेबुङलाई भित्रबाट बुझ्नुभईकन लेख्नुभएको ग्रन्थ ‘कालेबुङको गर्भेकथा’ (२०२३) उहाँको परिपक्व रचना बन्नगयो। अङ्ग्रेजी भाषामा अनुवाद भए यसले अन्ताराष्ट्रिय गरिमा प्राप्त गर्नेथियो। चियाबारी र कुलैनबारीका श्रमिकहरूबारे धेरै ग्रन्थ लेख्नुभएको छ। भारतका गोर्खाहरूबारे, गोर्खाका श्रम र शिल्पबारे देशविदेशका गवेषकहरूले उहाँबाट लाभ लिएका थिए। आफूले जानेका कुरा अनि आफूसित भएका सामग्री र ज्ञान साझा गर्न लोभ नगर्नुहुने खेमराजज्यूले धेरैलाई उपकार गर्नुभएको छ।

खेमराज महोदय गम्भीर अध्येता हुनुहुन्थ्यो तर इष्टमित्रसित भूमिस्तरमा व्यवहार गर्नुहुन्थ्यो। पदमाद पटक्क थिएन। हामीबीच तर्कातर्की पनि हुन्थ्यो तर एकार्काबिना रहन सक्दैनथ्यौँ। नाच्थ्यौँ, गाउँथ्यौँ, हाँस्थ्यौँ, खेल्थ्यौँ, खान्थ्यौँ, पिउँथ्यौँ, घुम्थ्यौँ, वनभात जान्थ्यौँ, सभा गर्थ्यौँ। उहाँ युवाकालमा विनोदी हुनुहुन्थ्यो। हामीले बिर्सी नसक्नु धेरै चकचक पनि गरेका छौँ। पुराना मित्रजन सबैलाई थाहा छ।

उहाँका मित्र प्रो. पुष्प शर्मा (सिक्किम विश्वविद्यालयबाट अवकाश), श्रीमती सङ्गीता प्रधान (मणि प्रिण्टिङ हाउसकी अधिपति), श्री ज्योतिरत्न तुलाधर (होली क्रस खरसाङका शिक्षक र दार्जिलिङ रत्न भण्डारका अधिपति), श्रीमती सुधा गुरुङ (कालेबुङ कलेजबाट अवकाश)-हरू हुनुहुन्छ। सूचना दिनैछ। शरीरमा नरहनुभए तापनि उहाँका गुणकृति रहिरहनेछन्।

आजदेखि उहाँ शरीरमा हुनुहुन्न। उहाँलाई कठिन रोगले भेटेको सुनियो। बोल्न सक्नुहुन्न भन्ने कुरा सरिताज्यूबाट थाहा लागेको थियो। उहाँको घरमा भएको पारिवारिक भेटबारे लेखेर फेसबुकमा हालेको धेरै वर्षअघि। भेटिनँ। उहाँलाई आफ्नो शरीर कष्टकरी बनिसकेको सुनिन्थ्यो। प्राणीलाई मृत्यु पनि चाहिने व्यवस्था हो। मृत्योः प्राप्त गर्नुभएर उहाँलाई यातनादेखि मुक्ति भयो तर हामी भने मर्माहत बन्यौँ। उहाँको सम्झनामा यति लेखेँ। अब उहाँ पुण्यात्मा हुनुभयो।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ