खरसाङ, (निसं)ः शुक्रवार बेलुकादेखि शुरु भएको वर्षा खरसाङ्मा शनिवार दिनभर निरन्तर रह्यो। शुक्रवार रातिको वर्षा बाक्लो रहे तापनि शनिवार हल्का वर्षा भएको थियो तर यो वर्षा असारे झरी जस्तो दिनभर निरन्तर भइरह्यो। वर्षाको कारण जनसाधरणले धेरै समस्याको सामना गर्न परेको थियो। वर्तमानमा खरसाङ्मा रुघा-मार्कीको समस्या धेरैले झेलिरहेकाले वर्षाले रुघा-मार्की, खोकीले ग्रस्त भएकाहरूलाई अझ समस्यामा पऱ्यो।
शनिवार खरसाङ्का अधिकतर विद्यालयहरूमा बिदा हुन्छ, शनिवार खुल्ला हुने विद्यालयहरू पनि ईदको कारण बिदा थिए। यसो हुँदै विद्यार्थीहरूले यो झरीको कारण समस्याको सामना गर्न परेन। वर्षाको कारण खरसाङ शहरको फुटपाथ, सड़क किनार, दोकानको पेटी, गल्लीको किनारमा दोकान फिँजाएर व्यापार गर्नेहरूले धेरै समस्याको सामना गर्न परेको थियो। शनिवार यस्ता धेरै व्यापारीहरूले दोकान लगाएनन् भने लगाएकाहरू मध्ये धेरैले चाँड़ै दोकान उठाएर घरतिर लागेको पनि देखियो। कतिपयले भने प्लास्टिकको ओत बनाएर व्यापार जारी राखेका थिए। बजारमा धेरै मानिसहरू झरीको पर्वाह नगरी आफ्नो कार्य गरिरहेका पनि देखिए। वर्षाको साथमा खरसाङ्मा चिसो पनि केही बढ़ेको छ।
चिसो बढ़ेकोले मानिसहरूले छोड़िकसेको तातो लुगाहरू पुनः प्रयोग गर्न परेको थियो। वर्तमानको वर्षाको कारण चिया उत्पादन अनि खेतीको निम्ति भने लाभ हुने कतिपय अनुभवी मानिसहरूले बताएका छन्। धेरै चिया बगानमा पहिलो पत्ती टिपाई भइसकेको छ, यो वर्षाको कारण दोस्रो अनि त्यसपछिका पत्ती राम्रोसित पलाउने, खड़ेरी लागेर चियाको बोटहरू नसुक्ने चिया बगानका मानिसहरूको भनाइ छ। खरसाङ शहरका कतिपय मानिसहरूले यो वर्षा राहतको रुपमा लिएका छन्। मानिसहरू अनुसार यसरी वर्षा भएकोले पानीका मुहानहरूलाई उर्जा प्राप्त हनेछ र पानीको समस्यामा केही हृदसम्म राहत प्राप्त हुनेछ।












