आगामी विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा आज खरसाङ बजारको हिल कार्ट रोडमा चुनाव पार्टी कार्यालय उदघाटन गरिएको छ। उक्त कार्यालयको उदघाटन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थितिमा उम्मेद्वार अमर लामाको बाहुलीबाट उदघाटन गरिएको छ। यस अवसरमा अमर लामाको उपस्थितिमा विभिन्न धर्मका गुरुहरुले पूजा अर्चना गरेका थिए। यस अवसरमा हिन्दुको पण्डित, बौध्द धर्मको लामा, मुस्लिम धर्मको मलवी र इसाई धर्मका फादर आदिद्वारा प्रार्थना गरिएको थियो। उक्त चुनावी कार्यालय उदघाटन गरिएपछि एउटा सांगठनिक सभा सम्पन्न भएको छ। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुमन बम्जनले सञ्चालन गरेका थिए। यस चुनावी सभालाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै चुनावको माहोलमा डिमाण्ड होइन तर मानिसहरुलाई बुझाउनुपर्छ र यतिबेला पनि नाली झोडा भन्नु हुँदैन। बरु यतिबेला सबैले मिलेर खरसाङ, दार्जिलिङ र कालेबुङलाई जिताउनुपर्छ भनी बताएका छन्। सभालाई भागोप्रमोको उम्मेद्वार अमर लामाले सम्बोधन गर्दै चुनावमा प्रतिद्वन्द्विता कुनै व्यक्ति विशेषसित होइन तर कुनै पनि पार्टीको नीति विरुद्ध हो भनी बताएका छन्। उनले कसैले पनि व्यक्तिगत आक्षेप लगाएर नबोल्ने अनुरोध गरे। यस चुनाव कार्यालय उदघाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुवास प्रधान, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, अनु छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। यस चुनाव कार्यालय उदघाटनपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले यसरी बताए।












