दार्जिलिङका लोकसभा सांसद राजु विष्ट ले टिस्टा बाढीबाट प्रभावित १० परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेका छन्। शनिबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उनले आफ्नो व्यक्तिगत तलबबाट घर निर्माण गरिदिने प्रतिबद्धता पूरा गर्दै रङ्पु, भालुखोला, तारखोला, टिस्टा तथा बाङ्गे बजार क्षेत्रका पीडित परिवारलाई घर उपलब्ध गराएका हुन्।
सांसद बिष्टका अनुसार सन् २०२३ मा आएको विनाशकारी बाढीले टिस्टा नदी आसपासका क्षेत्रका सयौँ परिवारको घर तथा जीविकोपार्जनमा ठूलो क्षति पुर्याएको थियो। त्यसबेला आफ्नो सम्पूर्ण सम्पत्ति गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले उनले कम्तीमा १० घर निर्माण गरिदिने घोषणा गरेका थिए। सोही प्रतिबद्धताअनुसार निर्माण सम्पन्न भएका जलवायु–अनुकूल घरहरू अहिले सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ।
नयाँ घर प्राप्त गर्ने लाभार्थीहरूमा बाङ्गे बजारका सङ्गीता छेत्री, टिस्टा बजारका चन्द्रमाया दर्नाल र मीना सार्की, मल्ली–भालुखोलाका ज्ञान छिरिङ लेप्चा र जितेन थापा, तोरखोलाका सानिल सुब्बा, तारखोलाका डी.बी. सुब्बा तथा रङ्पुका राजकुमारी, जगदीश साह र नौरोज राई रहेका छन्। सांसद बिष्टले यी घरहरू केवल आश्रयस्थल मात्र नभई बाढीपीडित परिवारहरूको सम्मान र पुनर्निर्माणको प्रतीक भएको बताएका छन्।
यसैबीच उनले रिम्बिक–लोढ़ो क्षेत्रअन्तर्गत फेदी खोला र फेञ्चेटारमा अक्टोबर २०२५ मा आएको पहिरोबाट घर क्षतिग्रस्त भएका १२ परिवारलाई पनि सहयोग गरिरहेको जानकारी दिएका छन्। आगामी दिनहरूमा पनि विपद्बाट प्रभावित तथा आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने कार्य निरन्तर जारी रहने उनले बताएका छन्।












