भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले असमको गुवाहाटी मा आयोजित एक सार्वजनिक कार्यक्रममा आयल इन्डिया लिमिटेड द्वारा सञ्चालन गरिएको नुमालीगढ़–सिलिगुडी उत्पादन पाइपलाइन को क्षमता वृद्धि परियोजनाको उद्घाटन गरेका छन्। उक्त परियोजनाले उत्तर–पूर्व भारतमा पेट्रोलियम पदार्थको ढुवानी पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यो पाइपलाइन करिब ६५४ किलोमिटर लामो बहुउद्देश्यीय पाइपलाइन हो, जसको व्यास ४०६ मिलिमिटर (१६ इन्च) रहेको छ। यसलाई पहिले वार्षिक १.७२ मिलियन मेट्रिक टन इन्धन ढुवानी गर्न सक्ने गरी डिजाइन गरिएको थियो। स्तरोन्नतिपछि यसको क्षमता बढाएर ५.५ मिलियन मेट्रिक टन प्रतिवर्ष पुर्याइएको छ।
अधिकारीहरूका अनुसार यो विस्तार परियोजनाले नुमालीगढ रिफाइनरी लिमिटेड को उत्पादन क्षमता ३.० MMTPA बाट ९.० MMTPA सम्म विस्तार गर्ने योजनालाई सहयोग गर्नेछ। यो परियोजना भारत सरकारको “उत्तर-पूर्वको लागि हाइड्रोकार्बन भिजन 2030” अन्तर्गत उत्तर–पूर्व क्षेत्रमा ऊर्जा पूर्वाधार सुदृढ बनाउने लक्ष्यसहित अघि बढाइएको हो।
पाइपलाइनको क्षमता विस्तार गर्न सेकोनी, गुवाहाटी, बोंगाइगाँव र मदारिहाटका पिगिङ स्टेसनहरूलाई इण्टरमिडियट पम्पिङ स्टेसन मा रूपान्तरण गरिएको छ। साथै नुमालीगढ़ डिस्प्याच टर्मिनलमा पम्पिङ सुविधाहरू विस्तार गरिएको छ भने सिलिगुडी रिसिप्ट टर्मिनलमा पनि आधुनिक प्रविधि जडान गरी सञ्चालन क्षमता र सुरक्षा स्तर सुधार गरिएको बताइएको छ।
यो परियोजना करिब ७५० करोड रुपैयाँ खर्चमा सम्पन्न भएको हो, जुन प्रारम्भिक स्वीकृत लागत ८६० करोड रुपैयाँभन्दा कम रहेको बताइएको छ। तीन वर्षभन्दा बढी समयसम्म सञ्चालन भएको निर्माण कार्यका क्रममा असम र पश्चिम बंगालका विभिन्न क्षेत्रमा करिब ४.१ मिलियन मानव-घण्टा रोजगारी सिर्जना भएको पनि सम्बन्धित निकायले जनाएको छ।
विशेषज्ञहरूका अनुसार यस परियोजनाले उत्तर–पूर्व भारतमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउँदै क्षेत्रीय ऊर्जा सुरक्षा तथा औद्योगिक विकासलाई पनि महत्वपूर्ण योगदान पुर्याउनेछ।












