पङ्खाबारी,(निसं): खरसाङ खण्ड अन्तर्गत पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयको नव निर्मित विद्यालय प्रेक्षालय भवनको बुधवार एक भव्य कार्यक्रमबीच उद्घाटन गरियो। विद्यालयको शिक्षालाई अनि विद्यालायको भौतिक पूर्वाधारलाई सुदृढ बनाउने उद्देश्य अनि सोचलिएर निमार्ण गरिएको उक्त प्रेक्षालय भवनको उद्घाटन कार्यकममा शिक्षाप्रेमी जनप्रतिनिधि, स्थानीय समाजका प्रतिनिधिगण, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल एवं भरतीय गोर्खा प्रजातान्त्रिक मोर्चा संस्थापक अध्यक्ष अनित कुमार थापाको बाहुलीबाट रिबन काटेर तथा दीप प्रज्वलन गरेर भवनको औपचारिक उद्घाटन गरियो।
विद्यायका शिक्षका प्रभारी देवेन गजमेरले स्वागत मन्तव्य राख्दै विद्यालयको विकासमा समुदाय, अभिभावक तथा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासबाट प्राप्त सहयोगको प्रशासा गरे। प्रमुख कार्यपाल अनित थापाको अथक सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षक गजमेरले थापाको नयाँ शैक्षिक दिशा एवं प्रेक्षालय भवनले शैक्षिक कार्यक्रम, सांस्कृतिक गतिविधि, विभिन्न सभा सम्मेलन सचेतानामूलक कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने बताए। नव निर्मित प्रेक्षालय भवनको उद्घाटनसँगै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई अझ व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न सहज हुने थप विश्वास व्यक्त गरे। प्रमुख कार्यपाल अनि कार्यकारी सभासदको यो उपहारले हाम्रा विद्याधीहरूलाई भोलिका दिनमा राष्ट्रिय स्तरका कलाकार र वक्ता बनाउन मार्ग प्रशस्त गर्नेछ भन्ने जानकारी पनि तिनले दिए।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महासचिव अमर लामाले आफ्नो सम्बोधनमा यस पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सख्या धेरै राम्रो रहेको औ यहाँका शैक्षिक पठन-पाठन पनि अतिनै राम्रो रहेको आफूलाई ज्ञात भएको जनाउँदै विद्यार्थीहरू अहिले सामाजिक सञ्जालबाट अलि पर हटेर आफनो गाँउघर, आमाबाबु अनि आफू स्वयंको सपना पूरा गर्न अधिक समय पढाइमा दिन पर्ने सल्लाह दिए।विद्यालयकी पूर्व प्रधानअध्यापिका, विद्यालय व्यवस्थापन समिति अध्याक्षिका तथा क्षेत्रिय कार्यकारी सभासद् कल्पना प्रधानले आफ्नो सम्बोधनमा यस विद्यालयप्रति आफ्नो अपार स्नेह अनि लगाव रहेको बताइन्। तिनले आफू प्रधानअध्यापिका रहँदादेखि विद्यालयलाई नयाँ दिशामा लैजान अथक परिश्रगरी रहेको बताउँदै अहिले आएर विद्यालयको पूर्व भौतिक जनधारहरू पूर्णरुपम तयार भइसकेकोमा खुसी व्यक्त गरिन्। यी सबै पूर्वधारहरु निमार्ण हुनुमा जीटीए प्रमुखको उच्च सोच अनि विचार रहेकोले सम्भव हुन सकेको बताइन्। जीटीए प्रमुखकै अथक सहयोग अनि शिक्षाप्रतिको दर्शनले नै आज पङ्खाबारीले मात्रै नभएर यस क्षेत्र तथा क्षेत्रयवासीले बृहत अनि सुन्दर प्रेक्षालय भवन प्राप्त गर्न सकेको प्रधानले दावी गरिन्।
तिनले भनिन्- अनित थापाको सही नेतृत्व, स्पष्ट सोच र जनताको विश्वास नै उनको सफलताको आधार हो। उनको नेतृत्वमा पहाड प्रगति र समृद्धितर्फ अघि बढिरहेको छ। समारोहलाई सम्बोधन गर्दै अनित थापाले शिक्षा समाजको उज्यालो भविष्य निमार्ण गर्ने सबैभन्दा बलियो आधार हो भनी जनाए। तिनले विद्यालयको शिक्षा, भौतिक पूर्वधार अनि विकासका वातावरणलाई सुदृद्ध वनाउन सबै पक्षको सहयोग र समर्पण आवश्यक हुन्छ भनी बताए। आफ्नो कार्यकालमा नै यस विद्यालयको नव भवन अनि नव प्रेक्षालय भवनको निमार्ण गर्न सफल बनेकामा आफू खुसी व्यक्त गर्दै नवनिर्मित प्रेक्षालय भवनले विद्यार्थीहरुलाई अध्ययनसँगै सांस्कृतिक तथा बौद्धिक गतिविधिमा पनि अघि बढ्न प्रेरणा दिने थापाले विश्वास व्यक्त गरे औ शिक्षाप्रति समर्पित शिक्षक, अभिभावक तथा समाजका सबै व्यक्तिहरुको अथक प्रयासले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने कुरा जनाए। यस
उद्घाटन समारोहमा विद्यार्थीहरूले असल नृत्यहरु प्रदर्शन गरेका थिए भने विद्यालयको सह शिक्षिका उषा कानुले स्वरचित कविता वाचन गरेकी थिइन्। विद्यालय पक्षबाट शिक्षिका सुष्मा प्रधानले प्रमुख अतिथिको अभिनन्दन एवम् प्रस्तती पत्र पठन गरेकी थिइन्। कार्यक्रममा उपस्थित सबैमा शिक्षिका मुन्नु लामाले धन्यवाद ज्ञापन गरिन् भनि विद्यालयका सहशिक्षक सुबोध लामाले कार्यक्रम सञ्चालन गरेका थिए।












