खरसाङ, (निसं): खरसाङ शहरी क्षेत्रको नाली, झोड़ा र कलभर्टहरूबाट लगिएको पानीको पाइपको अहिलेनै उचित व्यस्थापन नगरिएको खण्डमा भविष्यमा ठूलो समस्या हुने प्रबल सम्भावना देखिएको छ। खरसाङ शहरी क्षेत्रको लगभग सबै नालीमाथिबाट पानीको ठूलो-सानो पाइप लगिएको छ भने कतिपय झोड़ामा रहेका कलभर्टहरूबाट पनि यस्ता पाइपहरू लगिएका छन्। यी पानीको पाइपहरूको कारण वर्षाको अवधिमा नाली र झोड़ामा भलले फोहोर-मैला बगाएर ल्यएको फोहोर-मैला अड़किने भएकोले नाली, कलभर्ट थुनिएर भल बाहिर बग्ने समस्या सृजना हुने गरेको छ। यो समस्या बुधवार साँझ पखको वर्षाको अवधिमा पनि स्पष्ट देखिएको थियो।
आगामी समयमा अमृत 2.0 पिउने पानी योजनाको निम्ति नगरपालिका क्षेत्रमा धेरै संख्यामा पानीको पाइपहरू बिछ्याइनेछन्। यस योजना अन्तर्गत पाइप बिछ्याइने कार्य नालीमाथिबाट अथवा झोड़ा र कलभर्टबाटनै हुनेछ। वर्तमानमा रहिआएको पाइपमाथि यस योजनाको पाइपको बिटा बिछ्याइन्दा खरसाङ शहरको धेरै नाली छोपिने सम्भावना बनेको खरसाङ्का धेरै मानिसहरूले बताएका छन्। खरसाङ्का कतिपय मानिसहरूले बताए अनुसार वर्तमानमा रहिकाएको पाइपमाथि अमृत 2.0 योजनाको पानीको ठूलो-सानो पाइप बिछ्याइएपछि शहरको धेरैवटा नाली छोपिनेछन्, जसको कारण ती नालीहरू पुरिएर पानी सड़क, गल्ली, बाटो र आवशीय क्षेत्रमा बग्ने समस्याले अझ गम्भीर रुप लिनेछ। यसको निम्ति वर्तमानमा नै सठीक विचार पुऱ्याएर कार्य गर्न आवश्यक छ। वर्तमानमानै नाली, झोड़ा र कलभर्टबाट लगिने पानीको पाइपको व्यस्थापन नगरिएको खण्डमा आगामी समयमा वर्षाको अवधिमा ठूलो समस्या उत्पन्न हुनेछ, जसको सामना प्रत्येक वर्ष नगरवासीले गर्न पर्नेछ।
खरसाङ नगरवासीले वर्तमानमा पनि नाली, झोड़ा, कलभर्टमा फोहोर-मैला फाल्न नछोड़ेका छैनन्, जसको कारण वर्षाको अवधिमा ती फोहोर-मैला, प्लास्टिकको थैला, प्लास्टिको बोतल, पुराना कपड़ा, सिमेन्टको बोरा आदि वर्षाको अवधिमा भलले बगाएर ल्याएपछि नाली, कलभर्ट थुनिएर समस्या सृजना भइरहेको मानिसहरूको गुनासो छ। खरसाङ्का केही मानिसहरूले अमृत 2.0 योजनाको पानीको पाइप जड़ान गर्दा पहिलाबाटै सतर्कता अपनाएर पाइप जड़ान गर्न पर्ने, पाइप जड़ान गर्दा नाली र कलभर्ट थुनिने गरेर जोड़न नहुने मानिसहरूको सुझाउ छ। स्मरण गराइन्छ, वर्तमानमा अमृत 2.0 योजनाको निम्ति नगरपालिकाको विभिन्न स्थानमा पानीको पाइप जड़ान गर्ने कार्य गरिन्दैछ। यस योजना अन्तर्गत नगरपालिकाको सबै क्षेत्रमा तीन इञ्च अनि नगरवासीको घर-घरमा पानी पुऱ्याउनलाई आधा इञ्चको पाइप बिछ्याइने छ।












