भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्या विरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरिएको छ। उक्त उजुरी भारतले आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप 2026 जितेपछि गरिएको उत्सवका क्रममा भएको गतिविधिलाई लिएर दर्ता गरिएको हो।
मिडिया रिपोर्टअनुसार भारतले न्यूजिल्याण्डलाई हराउँदै अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टी–२० विश्वकप उपाधि जितेपछि मैदानमै खेलाडीहरूले भव्य उत्सव मनाएका थिए। सो क्रममा हार्दिक पाण्ड्या भारतीय राष्ट्रिय झण्डा (तिरंगा) शरीरमा बेरेर नाच्दै र उत्सव मनाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उजुरीकर्ताका अनुसार उक्त उत्सवका क्रममा पाण्ड्या आफ्नो प्रेमिकासँग स्टेजमा सुतेको जस्तो देखिने भिडियो सार्वजनिक भएको छ, जसमा राष्ट्रिय झण्डा अझै उनको शरीरमा बेरेको अवस्थामा रहेको देखिन्छ। यसलाई झण्डाको गरिमाविरुद्धको व्यवहार भएको दाबी गर्दै उजुरी दर्ता गरिएको हो।
पुणेका अधिवक्ता वाजिद खान बिडकरले यो उजुरी दर्ता गरेका हुन्। उनले राष्ट्रिय झण्डाको सम्मान कायम राख्नुपर्ने कानुनी प्रावधान उल्लंघन भएको भन्दै कारबाहीको माग गरेका छन्। उनका अनुसार यस्तो कार्यले राष्ट्रिय सम्मानको अपमान निवारण ऐन, १९७१ अन्तर्गत अपराध हुनसक्छ।
उक्त उजुरी शिवाजी नगर पुलीस स्टेशनमा दर्ता गरिएको पुलीसले पुष्टि गरेको छ, तर यस विषयमा थप अनुसन्धान वा कानुनी कारबाहीबारे तत्काल कुनै निर्णय भएको छैन। प्रहरीले उजुरी प्राप्त भएको स्वीकार गरे पनि थप प्रक्रिया अघि बढाउनेबारे स्पष्ट जानकारी दिएको छैन।
भारतले टी–२० विश्वकपको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै उपाधि जितेको थियो। त्यसपछि खेलाडीहरूले मैदानमै भावनात्मक रूपमा उत्सव मनाएका थिए, जसका भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए।
यो घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई केवल जीतको खुशीमा गरिएको उत्सव भएको बताएका छन् भने केहीले राष्ट्रिय झण्डा प्रयोग गर्दा अझ सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
हालसम्म पाण्ड्या वा भारतीय क्रिकेट बोर्डले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। पुलीसले उजुरीका आधारमा आवश्यक अनुसन्धान गर्ने बताइएको छ।












