सिलगढ़ी आज पश्चिम बंगालको एक महत्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको शहर हो। व्यापारिक गतिशीलता, सांस्कृतिक विविधता र मानवीय सम्बन्धहरूको जीवन्त संगम बनेको यस शहरले अनेक व्यक्तित्व जन्माएको छ, जसले आफ्नो परिश्रमले मात्र होइन, समाजप्रतिको समर्पणले पनि पहिचान बनाएका छन्। यसै शहरमा जन्मेर हुर्केका समाजसेवी तथा व्यवसायी सर्जु शर्मा त्यस्ता प्रेरणादायी व्यक्तित्वमध्ये एक हुन्, जो शान्त स्वभाव, विनम्र व्यवहार र निःस्वार्थ सेवाभावका लागि परिचित छन्।
१९ फरवरी १९६६ मा स्वर्गीय पिता जगदिश शर्मा र माता रत्ना देवी सुब्बा (शर्मा) का सुपुत्रका रूपमा आश्रमपाढ़ा, सिलगढ़ीमा जन्मिएका सर्जु शर्मा बाल्यकालदेखि नै पारिवारिक संस्कार, श्रमशीलता र मानवीय मूल्यहरूबीच हुर्किएका हुन्। अनुशासन, इमानदारी र अरूप्रतिको सम्मान जीवनको आधार हुनुपर्छ भन्ने शिक्षा उनले घरमै प्राप्त गरे। यही शिक्षाले उनको जीवनदृष्टिलाई आकार दियो र उनलाई समाजसेवाको मार्गतर्फ उन्मुख गरायो।
मृदुभाषी र मिलनसार स्वभावका उनी औपचारिक सम्बन्धभन्दा आत्मीयतालाई बढ़ी महत्त्व दिन्छन्। मानिसलाई पद, सम्पत्ति वा हैसियतले होइन, मानवताले मूल्यांकन गर्नुपर्छ भन्ने सोच उनको व्यवहारमा सधैं झल्किन्छ। यही सरलता र सहजताले उनलाई सबै वर्गका मानिससँग नजिक बनाएको छ।
उनको व्यवसायिक यात्रा सामान्य अवस्थाबाट शुरु भएको थियो। प्रारम्भमा ठूलो पूँजी थिएन, सुविधा थिएन, तर परिश्रम गर्ने अठोट र सत्यनिष्ठाप्रतिको विश्वास दह्रो थियो। सानो स्तरबाट शुरु भएको व्यापार बिस्तारै विश्वासिलो बन्दै गयो। अनेक उतारचढ़ाव पार गर्दै उनले व्यवसायलाई केवल आर्थिक उपलब्धिको माध्यम बनाएर सीमित राखेनन्, बरु सामाजिक जिम्मेवारीसँग जोड़े। आज उनी उत्तर बंगालका अग्रपंक्तिका सफल व्यवसायीका रूपमा परिचित छन्, तर उनको जीवनशैली सरल र संयमित छ।
सर्जु शर्माको जीवनको सबैभन्दा उज्यालो पक्ष भनेको उनको समाजसेवा हो। विभिन्न धार्मिक स्थलहरूको संरक्षण, मरम्मत तथा व्यवस्थापनमा उनले निरन्तर सहयोग गर्दै आएका छन्। यस कार्यमार्फत उनले सामाजिक एकता र आध्यात्मिक मूल्यहरूको संरक्षणमा योगदान पुर्याएका छन्।
क्यान्सर रोगी, मृगौला पीड़ित तथा विभिन्न दीर्घरोगबाट ग्रस्त बिरामीहरूलाई आर्थिक सहयोग प्रदान गर्नु उनको सेवाकार्यको महत्वपूर्ण पक्ष हो। धेरै परिवारहरू कठिन परिस्थितिबाट बाहिर निस्कन उनको सहयोगले नै सम्भव भएको छ। त्यसैगरी विपन्न विद्यार्थीहरूलाई पाठ्यपुस्तक, विद्यालय शुल्क तथा शैक्षिक सहयोग उपलब्ध गराउँदै उनले शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान दिँदै आइरहेका छन्।
रोजगार सिर्जनालाई उनले समाजसेवाकै एक रूप मान्छन्। आफ्नै व्यवसाय तथा सम्बन्धित कार्यक्षेत्रमार्फत एक हजारभन्दा बढ़ी मानिसहरूलाई रोजगारी प्रदान गरेर उनले अनेक परिवारको जीवनयापनमा स्थिरता ल्याएका छन्। यसलाई उनी आफ्नो उपलब्धि नभई सामाजिक दायित्वको निर्वाह मान्छन्।
खेलकुद र सांस्कृतिक क्षेत्रमा पनि उनको सहयोग उल्लेखनीय छ। राज्यस्तरमा खेल्न अग्रसर क्रिकेट खेलाड़ीहरूलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै संगीत क्षेत्रमा प्रतिभाशाली युवा कलाकारहरूलाई प्रोत्साहन र सहयोग गर्दै उनले नयाँ पुस्तालाई अघि बढ्ने आधार दिएका छन्। प्रतिभालाई अवसर दिनु नै समाजको भविष्य निर्माण गर्नु हो भन्ने उनको विश्वास छ।
हाल शास्त्री नगरका स्थायी निवासीका रूपमा उनी स्थानीय समाजसँग गहिरो रूपमा जोड़िएका छन्। शास्त्री नगर बालकृष्ण संघमा उनको योगदान विशेष रूपमा स्मरणीय छ। उक्त संस्थाको विकासका लागि उनले निरन्तर आर्थिक सहयोग गरेका छन् भने आफ्नी आमाको नाममा सभागृह निर्माण गरिदिएर सामाजिक तथा सांस्कृतिक गतिविधिका लागि स्थायी संरचना उपलब्ध गराएका छन्।
नेपाली समाजमा जाति र समुदायबीच समन्वय, सहयोग र आपसी सद्भाव कायम राख्न उनले उल्लेखनीय भूमिका खेल्दै आएका छन्। उनको व्यक्तित्वको सबैभन्दा प्रभावकारी पक्ष भनेको विनम्रता हो। आर्थिक र सामाजिक रूपमा स्थापित भइसकेपछि पनि उनमा अहंकारको कुनै छायाँ देखिँदैन। सरल बोली, संयमित व्यवहार र सहयोगी मनले उनलाई समाजमा सम्मानित बनाएको छ। आजको समयमा सफलता प्रायः धन र प्रतिष्ठाले मापन गरिन्छ, तर सर्जु शर्माको जीवनले फरक मानक प्रस्तुत गर्छ। कसैको कठिनाइमा साथ दिनसक्नु, कसैलाई सेवा दिनसक्नु र समुदायलाई जोड़िराख्नसक्नु नै वास्तविक उपलब्धि हो भन्ने उनको जीवनदर्शन छ।
यस लेखमा उल्लेखित उनका सेवाकार्यसम्बन्धी जानकारी समाजसेवी सर्जु शर्माका समकालीन मित्र तथा व्यवसायी अरूण बरालबाट प्राप्त भएको हो, जसले प्रस्तुत विवरणहरूको तथ्यगत आधारलाई पुष्टि गर्दछ। सर्जु शर्मा केवल सफल व्यवसायी मात्र होइन, संवेदनशील नागरिक र समर्पित समाजसेवीका रूपमा स्थापित व्यक्तित्व हुन्। उनको कार्ययात्रा समाजका लागि प्रेरणा बनिरहोस्।












