खरसाङ, (निसं): अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गगठन खरसाङ महकुमा समितिको तत्वाधानमा सोनादाको डाँड़ा गाउँ नयाँ कमानका प्रतिनिधि अनि सदस्यहरूलाई लिएर एक सभा सम्पन्न भयो। सहदेव गुरुङ्को सभापतित्वमा सम्पन्न भएको यो सभामा सङ्गठनका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुको मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए भने खरसाङ महकुमा समिति सचिव सुधीर गुरुङ, खरसाङ महकुमा समितिका कार्यकारिणी सदस्यहरू प्रनिता गुरुङ, रतन गुरुङ, उत्तम गुरुङ, सरस्वती गुरुङ, टुङ शाखाका सभापति सुवास गुरुङ्को पनि उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै रविन गुरुङले गुरुङ जातिको भाषा, भेषभुषा, संस्कार, संस्कृतिको उत्थान हुन आवश्यक रहेकोले सम्पूर्ण तमुहरू जागरुक भएर अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठनको छत्रछायामा रहन पर्ने महसुस भएको बताए। शेखर गुरुङले गुरुङ जातिलाई उचित दिशानिर्देशनको अभाव भएकोले धेरै समस्या भोग्नु परेको गुनासो सभामा राखे। खरसाङ महकुमा समिति सचिव सुधीर गुरुङले अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठन अराजनीतिक सङ्गठन भएकोले गुरुङ जातिको हक, हित, अधिकारको निम्ति सङ्गठनले कार्य गर्नु पर्ने विषयमा जोर दिए।
सभामा मुख्य अतिथिको रुपमा उपस्थित रहेका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुले गुरुङ जातिको तीन धर्म गुरु पह्च्यु, क्लेब्री र लम हुन्छन् भन्दै केर्लो गुरुङ जातिको धार्मिक पुस्तक हो भनी बताए। अहिलेका तमु विद्यार्थीहरूले गुरुङ जातिको विषयमा अध्यन अनुशंधान गर्ने महौल बनाउदैछन् भने। संस्कृति भनेको कसैले ठूलो, कसको सानो हुँदैन। हामीले भारत सरकारलाई धेरै पल्ट जनजातिको माग पत्र पेश गरेका छौँ, गुरुङ जाति खाटी जनजाति हो भन्दै आनन्द तमुले भारत सरकारलाई दबाउ दिने कार्य भइरहेको छ भनी सभामा जानकारी गराए।
यसै सभामा अखिल भारतिय गुरुङ तमु बौद्ध सङ्गठन डाँड़ा गाउँ नयाँ कमान शाखा गठन गरियो, जसमा सभापति चन्द्र शेखर गुरुङ, उपसभापति सहदेव गुरुङ, सचिव आनन्द गुरुङ, सहसचिव भीम गुरुङ, कुमार गुरुङ, कोषाध्यक्ष रविन गुरुङ, मुख्य सल्लाहकार मोहन गुरुङ, सञ्जिव गुरुङ, राजेन गुरुङ, सुजय गुरुङ अनि 6 जना कार्याकारिणी सदस्य लगायत जम्मा 17 जनाको समिति गठन गरियो। खरसाङ महकुमा समितिका सदस्य उत्तम गुरुङ, प्रनिता गुरुङ अनि सरस्वती गुरुङले आगामी दिसम्बर महिनामा सम्पन्न हुने अन्तर्राष्ट्रिय तमु महाधिवेशन बारे बताउदै निःस्वार्थ भावले गुरुङ जातिको सेवा गर्न पर्ने बारेमा जोर दिए। धार्मिक अल्पसंख्यक आयोगबाट पनि हामीले सहुलियत लिन पर्छ भनी दिनले सुझाउ सभामा तिनीहरूले राखेका थिए।












