अमेरिकी सेनाले होर्मुज जलडमरू मध्य नजिक इरानका १६ वटा बारुद (समुद्री माइन) बिछ्याउन प्रयोग गरिने डुंगाहरू नष्ट गरिएको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेंट्रल कमाण्ड) का अनुसार ती डुंगाहरू अत्यन्तै महत्वपूर्ण समुद्री मार्गमा बारुद बिछ्याउने तयारीमा रहेको आशंका भएपछि सैन्य कारबाही गरी ध्वस्त पारिएको हो। अमेरिकी स्रोतहरूले जनाएअनुसार उक्त डुंगाहरूलाई निगरानी तथा गुप्तचर सूचनाका आधारमा पहिचान गरिएको थियो र समुद्री सुरक्षामा गम्भीर खतरा उत्पन्न हुनसक्ने सम्भावना देखिएपछि तत्काल कारबाही गरिएको बताइएको छ।
अमेरिकी सेनाले दिएको जानकारी अनुसार ती डुंगाहरूबाट समुद्री माइन बिछ्याइएमा अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवतजावतमा ठूलो अवरोध उत्पन्न हुनसक्थ्यो। विशेषगरी तेल बोकेका ट्यांकर जहाजहरूका लागि यो क्षेत्र अत्यन्तै संवेदनशील मानिन्छ। त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै समयमै कदम चालिएको अमेरिकी पक्षको दाबी छ।
यस घटनालाई मध्यपूर्व क्षेत्रमा बढ्दै गएको भू–राजनीतिक तनावसँग जोडेर हेरिएको छ। केही समयदेखि अमेरिका र इरानबीच विभिन्न मुद्दामा तनाव बढ्दै गएको छ, जसका कारण खाडी क्षेत्रमा सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गर्दै आएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानलाई होर्मुज जलडमरू मध्य क्षेत्रमा कुनै पनि प्रकारको बारुद वा समुद्री माइन बिछ्याउने गतिविधि नगर्न चेतावनी दिएका थिए। उनले यदि त्यस्तो गतिविधि भएको पुष्टि भए तत्काल हटाउनुपर्ने र अन्यथा कडा सैन्य प्रतिक्रिया हुनसक्ने बताएका थिए।
होर्मुज जलडमरू मध्य विश्वकै सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिन्छ। फारसको खाडीलाई ओमानको खाडी तथा अरब सागरसँग जोड्ने यो मार्ग अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त महत्वपूर्ण छ। विश्वभर प्रयोग हुने कच्चा तेलको ठूलो हिस्सा यही मार्गबाट जहाजमार्फत विभिन्न देशमा ढुवानी हुने गर्दछ। त्यसैले यहाँ कुनै पनि प्रकारको सुरक्षा खतरा उत्पन्न भए विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषकहरू बताउँछन्।
विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरू मध्यमा तनाव बढेमा तेलको मूल्यमा उतारचढाव आउन सक्ने र अन्तर्राष्ट्रिय बजारमा आर्थिक अस्थिरता समेत बढ्न सक्छ। यही कारणले खाडी क्षेत्रको समुद्री सुरक्षालाई लिएर अमेरिका मात्र होइन, अन्य शक्तिशाली देशहरू र अन्तर्राष्ट्रिय संगठनहरूले पनि निगरानी बढाइरहेका छन्।
हाल अमेरिकी सेनाको उक्त कारबाहीपछि अमेरिका र इरानबीचको कूटनीतिक तथा सैन्य तनाव थप चर्किन सक्ने संकेत देखिएको छ। यद्यपि घटनाबारे इरानको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। खाडी क्षेत्रमा समुद्री मार्गको सुरक्षा, ऊर्जा आपूर्ति तथा क्षेत्रीय स्थिरतासँग सम्बन्धित भएकाले अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई गम्भीरतापूर्वक हेरिरहेको छ।












