खरसाङ, (निसं) खरसाङ्मा दैनिक सयौँ गाड़ी विभिन्न क्षेत्रबाट आउछन्, खरसाङ आएका यी गाड़ीहरू पार्किङ गर्नलाई कुनै पार्किङ स्थल भने छैन। जीटीए मुख्य कार्यपाल अनित थापाले वर्तमान अस्पताल रहेको स्थानमा टाउनशीप निर्माण गर्ने अनि यसैको नजिक पार्किङ स्थल निर्माण गर्ने अनि अस्पताललाई अन्य स्थानमा सार्ने भनी पटक पटक घोषणा गरेका छन् तथापि निर्माण कार्य अहिलेसम्म आरम्भ गरिएको छैन।
खरसाङ बजारमा गाड़ी पार्किङ गर्ने ठाउँ नभएकोले चालकहरू समस्यामा छन्। खरसाङ्को मूल सड़क राष्ट्रिय राजमार्ग 110 मा अधिकतर स्थान नो पार्किङ जोन रहेको छ। बाध्यताले कतिपय चालकले राष्ट्रिय राजमार्गमा गाड़ी पार्किङ गरेको खण्डमा चालान काटिने गरिएकोले चालकहरू हैरान बनेका छन्। यसै गरी दुई चक्के सवारहरू पनि पार्किङ गर्ने ठाउँ नरहेको र सड़क किनारमा पार्किङ गर्दा चालान गाटिएकोले हैरान छन्। वर्द्धवान रोडमा धेरै गाड़ी पार्किङ गरिन्छ तर वर्द्धवान रोडमा विभिन्न स्थानमा जाने सण्डिकेटहरू सञ्चालनमा रहेकाले त्यहाँ पार्किङ गरिएका गाड़ीहरू सबै सेण्डिकेटका गाड़ीहरू हुन्छन्। यस्तो अवस्थामा धेरै मानिसहरूले सन्त अल्फन्सस् उच्चतर माध्यमिक विद्यालय नजिक रहेको आईएनए बस टर्मिनशमा गाड़ी पार्किङ गर्न लैजाने गरेका छन् भने कतिपयले कप्तान रामसिंह ठकुरी पथ, पङ्खाबारी रोड, डाउहिल रोडमा गाड़ी पार्किङ गर्न लैजाने गरेका छन्।
यस समय आईएनए बस टर्मिनशले खरसाङ्को पार्किङ्को समस्यालाई धेरै हदसम्म थेगेको छ। यहाँ दैनिक सयौँ गाड़ी पार्किङ गरिन्छ अनि आफ्नो काम सकिएपछि लगिन्छ। यस बस टर्निनशमा पनि धेरै गाड़ी पार्किङ्को निम्ति ल्याइने हुनाले कुनै समय ठाउँ नपाएपछि चालकहरू सन्तमेरिजसम्म गाड़ी पार्कङ गर्न पुग्ने गरेको बताउछन्। निर्माणपछि धेरै समय उपेक्षित रहेको यस बस टर्निनशको क्षमतालाई अझ बढ़ाएर पार्किङ्को निम्ति प्रयोग गरिएको खण्डमा खरसाङ्को पार्किङ समस्यालाई धेरै हदसम्म कम गर्न सकिनेछ भनी कतिपय चालकहरूले बताएका छन्।












