उत्तर प्रदेशको कानपुरमा रहेको चन्द्रशेखर आजाद कृषि तथा प्रौद्योगिकी विश्वविद्यालयका वैज्ञानिकहरूले सरसों (तोरी) को नयाँ उन्नत जात विकास गरेका छन्। “गोवर्धन” नाम दिइएको यस प्रजातिलाई हालै भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय अन्तर्गतको केन्द्रीय बीज समितिले विभिन्न राज्यहरूमा खेतीका लागि स्वीकृति दिएको छ। वैज्ञानिकहरूका अनुसार यो प्रजाति उच्च उत्पादन, बढी तेलको मात्रा तथा रोग प्रतिरोधात्मक क्षमताका कारण विशेष मानिएको छ।
यो नयाँ सरसोंको जात करिब १२०–१२५ दिनमा पाक्ने गर्दछ र परम्परागत जातहरूको तुलनामा झण्डै ७–८ प्रतिशत बढी उत्पादन दिन सक्ने बताइएको छ। यसमा तेलको मात्रा पनि करिब ३९–४० प्रतिशतसम्म पाइने भएकाले किसानहरूका लागि आर्थिक रूपमा फाइदाजनक हुने अपेक्षा गरिएको छ। साथै, यस जातले बदलिँदो मौसम र विभिन्न भौगोलिक अवस्थासमेत सहन सक्ने क्षमता राख्ने बताइएको छ।
अब यो उन्नत प्रजाति पूर्वोत्तर भारतका राज्यहरू जस्तै अरुणाचल प्रदेश, सिक्किम, त्रिपुरा र मणिपुरमा पनि विस्तार गरिनेछ। यी क्षेत्रहरूमा तोरी खेतीको सम्भावना बढाउने र किसानहरूको आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको छ। कृषि विज्ञहरूका अनुसार यस नयाँ जातले तेलबिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।












