ग्रामीण पूर्वाधारमा महत्वपूर्ण प्रगतिका लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का माननीय प्रमुख कार्यपाल अनित कुमार थापाले आज खरसाङ सिँचाई महाशाखा र पश्चिम बंगाल राज्य ग्रामीण विकास एजेन्सी(डब्ल्यू.बी.एस.आर.डी.ए.) अन्तर्गत चार प्रमुख विकास परियोजनाहरूको शिलान्यास गरे।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, “यी विकासका गतिविधिहरू ठूलो विकासका लागि स्टेपिङ स्टोनहरू हुन्। तर निर्माण कार्य गुणवत्ता हुनुपर्छ। फण्ड ल्याउने पनि म, काम पारित गराउने म अनि काम नराम्रो हुँदा गाली चाहिँ मैले खानु? पञ्चायत प्रधानको काम कार्यालयमा मात्र बस्ने होइन यी सबै काम हेर्नु पनि हो।”
चुनावी अपील गर्दै थापाले भने, “बाटो चाहिँदा अनित थापा। पानी चाहिए अनित थापा। पूजामा अनित थापा। बिमारी भए अनित थापा। विकासको निम्ति पैसा ल्याउने अनित थापा तर चुनाउमा अनित थापालाई झुक्याउनु? पानी आउने स्रोतमा नै ताला लगाउनु भयो भने पानी कसरी आउँछ? भड्केको झोंकमा भोट हाल्दा ठाउँको उन्नति हुन्छ? यसपाली पनि मलाई झुक्याउनु भयो भने तपाई आफै झुक्किनु हुनेछ।”
आज शिलान्यास गरिएको परियोजनाहरू खरसाङ खण्ड अन्तर्गत सिरीसे, पान्डु र अम्बोटियामा अवस्थित छन्, जसको विवरण यसप्रकार रहेको छ।
सिरीसेमा एसएसजी सामुदायिक हल निर्माण (₹५३,५८,०००)। कुमाल्टारमा सामुदायिक हल निर्माण (₹६१,३९,०००)। पोस्ट अफिसदेखि अम्बोटिया शिव मन्दिरसम्म सडक निर्माण (₹२,३७,५०,०००)। अपर सिरीसेमा भान्सा घर र शौचालय सहितको सामुदायिक हल (५०x३० वर्गफिट) निर्माण (₹३२,२६,०००)।
यी कार्यक्रमहरूमा प्रमुख अधिकारीहरूको उपस्थिति थियो, जसमा खरसाङ सिँचाई महाशाखाका कार्यकारी इन्जिनियर श्री चन्दन प्रधान, डब्ल्यू.बी.एस.आर.डी.ए. दार्जीलिङ महाशाखाका कार्यकारी इन्जिनियर श्रीमती पूर्णिमा क्षेत्री र पङ्खाबारी अम्बोटिया लङ्गभ्यू समष्टिकी महिला तथा बाल विकास/डी.आर.डी.सी. श्रीमती कल्पना प्रधान थिए।












