खरसाङ, (निसं)ः गोर्खा ट्राइबल डिमाण्ड कमिटीको एक प्रतिनिधि टोलीले इण्टरलोक्युटर पंकज कुमार सिंहसित डुवर्सको चाल्सामा भेट गऱ्यो। दीर्घ दिनदेखि गोर्खा समुदायको जनजातिको मागलाई केन्द्र सरकारले अदेखा गरेको कारण गोर्खा समुदाय निरास भएको गुनासो गर्दै यस विषयमा केन्द्र सरकारले उचित कदम चाल्न पर्ने आवश्यकता रहेको गोर्खा ट्राइबल कमिटीको टेलीले इन्टरलोक्युटर समक्ष कुरा राखे। बंगाल सरकारले अघिबाटै जनजातिको मुद्दालाई सिफारिस गरेर केन्द्र सरकारमा प्रेषित गरिसकेको इन्टरलोक्युटरलाई अवगत गराउदै धेरै पटक केन्द्र सरकारको गृह मन्त्रालय, आरजीआई कहाँ गोर्खा समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुसा, परम्परा लगायतका विषयहरूमा दस्तावेजहरू बुझाइएको जानकारी गराए। प्राप्त जानकारी अनुसार जनजातिको मागलाई शिघ्र पुरा गरिदिन कार्य गर्ने केन्द्र सरकारको इन्टरलोक्युटर पंकज कुमार सिंहलाई प्रष्ट शब्दामा टोलीले माग राख्यो। गोर्खा ट्राइबल डिमाण्ड कमिटीका प्रतिनिधि टोलीमा सभापति एसएन प्रधान, उपसभापति कलावती गुरुङ, अनिल मंगर, टेक बहादुर सुनवार, सचिव प्रशान्त थुलुङ, कोषाध्यक्ष सानू खवास सामेल रहेका थिए।












