शिक्षक महासंघको अगुवाइमा २६ दिनदेखि चलिरहेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो, जसका कारण ६२ जना घाइते भएको महासंघले जनाएको छ । तर प्रहरीले भने २० शिक्षक, ५ प्रहरी र एक पत्रकार घाइते भएको उल्लेख गरेको छ । घाइतेहरूको सिभिल, एभरेस्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये ४३ जना उपचाररत रहेको शिक्षक आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् । अधिकांशको टाउको, हातखुट्टामा चोट लागेको छ । झडपमा पत्रकार सबिना कार्की पनि घाइते भएकी छन् । प्रहरीले हानेको पानीको फोहराले उनको आँखामा चोट लागेको छ । सरकारले ‘घुसपैठ’ गरी झडप निम्त्याएको दाबी गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
सर्वोच्च अदालतले संवादबाट विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई दिएको ३ दिनको अवधि पूरा हुँदै गर्दा शिक्षक र प्रहरी मुठभेडमा उत्रिए । आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि केहीबेर झडप भएको प्रहरीको भनाइ छ । ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्ने क्रममा पानीको फोहरा प्रहार गरेको थियो भने आन्दोलनकारीका तर्फबाट ढुंगा, इँटा प्रहार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले सामान्य लाठीचार्ज र पानीको फोहरा हानेर भीड नियन्त्रणमा लिएको बताए । आन्दोलन संयोजक पराजुलीले भने सरकारले ‘घुसपैठ गरेर दमन’ गरेको दाबी गरिन् ।
‘सधैं झैं जुलुस बानेश्वरतर्फ जाँदै थियो । एक्कासि हेल्मेट लगाएका मान्छेले ढुंगा हाने । प्रहरीले पानीको फोहरा हान्यो, सडक पेटीमा बसेका शिक्षकलाई पनि लाठी हानेर घाइते बनायो,’ उनले भनिन्, ‘सरकारले २६ दिनसम्म गैरजिम्मेवार भएर थकाउन खोज्यो । नसकेपछि दमन गरेर लखेट्न खोज्दै छ ।’