खरसाङ, 7 फरवरी (निसं): आगामी विधानसभा चुनाउमा खरसाङका विधायक विष्णु प्रसाद शर्मा उर्फ बीपी बजगाईँको कुनै क्रियाकलाप रहनेछैन। तिनले हिमालय दर्पणसित कुरा गर्दै आफूले यो निर्णय गरेको बताए।
तिनले भने, पहाड़को राजनीतिले मेरो क्रियाकलाप मन पराएन, मेरो आफ्नै दल भाजपाले मेरे क्रियाकलाप मन पराएन। यसैले आगामी विधानसभा चुनाउमा मेरो कुनै क्रियाकलाप रहने छैन। यदि पहाड़को राजनीति र भाजपाले मेरो क्रियाकलाप मन पराएको भए धेरैको दोकान बन्द हुने थियो। अँ मलाई आवश्यक महसुक भएको खण्डमा म झुटको पर्दाफास गर्दै बस्नेछु। तिनले शनिवार 17 औँ विधानसभाको अन्तिम सत्र रहेको र शनिवारदेखि आफू विधायक अनि भाजपाबाट मुक्त भएको बताउदै भने, आगामी विधानसभामा निर्वाचित विधायकहरूले सपथ नलिएसम्म म एक विधायक नै रहनेछु। तर 17 औँ विधानसभाको आज अन्तिम दिन भएकोले म आफूलाई विधायक पद अनि भाजपाबाट मुक्त भएको ठान्दछु।
आफ्नो कार्यकालमा के-कति कार्य गर्नु भयो? कतिपयले केही काम गरेनन् भन्छन् भनी प्रश्न गर्दा तिनले भने, मलाई खरसाङ्का जनताले मत दिएर विधायक बनाएका हुन्। जनताले दिएको दायित्वलाई मैले पूर्ण रुपमा निभाएको छु। मैले मेरो पार्टी भाजपाले वाचा गरेको पीपीएस, जसलाई पहाड़का जनताले गोर्खाल्याण्ड भनेर बुझ्छन, यस विषयलाई चार पल्ट विधानसभामा उठाएँ। 11 जातगोष्ठीको मामिलालाई उठाएँ। आफ्नै पार्टी वाचाबाट टाड़िएको पाएपछि धर्नामा बसेँ। विधायक भनेको पुल बनाउने, बाटो बनाउने होइन। विधायकले आफ्नो क्षेत्रको समस्यालाई विधानसभा पुऱ्याउने हो, जुन मैले पुऱ्याएको छु। पुल, बाटो निर्माण गर्ने दायित्व क्षेत्रीय व्यवस्थाको हो। मैले जुन जिम्मेवारी वहन गरेको थिएँ, त्यो जिम्मेवारी निभाएको छु। मर्ने बेलामा छातीमा ढक राखेर मर्नु पर्दैन। गत वर्ष अक्टोबर महिनादेखि विधायक कोष जिल्ला शासक कार्यालयमा रोकिएको छ, किन रोकियो त्यसको मलाई जानकारी छैन तर दार्जीलिङ जिल्लाको पाँच विधायकहरूमा सबै भन्दा बढ़ी विधायक कोष गर्ने म हुँ।
विधायक अनि भाजपाबाट मुक्त भएपछि कुनै राजनीतिक दलमा जाने विचार छ? भनी प्रश्न गर्दा तिनले वर्तमानमा त्यस्तो कुनै निर्णय नगरेको बताउदै भने, मानिस जन्मिन्दै राजनीतिक प्राणी भएर जन्मन्छ, मानिसको राजनीतिक चेतनाले कतै न कतै काम गरिरहेकै हन्छ। तर पहाड़को नाममा भोट माग्ने, जसले पहाड़का जनतालाई धोका दियो त्यसैको निम्ति भोट माग्ने काम पटक्कै गर्दिन। तिनले आरोप लगाउदै भने, सादय कतियले मलाई आफ्नै खुट्टामा बञ्चरो हान्ने विधायक पनि भन्दा हुन् तर भाजपाले पहाड़लाई धोका दियो। भाजपाले ढाट्ने काम गऱ्यो। यस्तो धोका दिने पार्टीमा म रहँदिन। मैले चापलुसी गरिरहेको भए सायद विधायक हुन सक्ने थिएँ तर गरिन। मलाई चुनाउमा भोट मग्नु छैन, चुनाउ सकिएपछि मैले गरेको कामको लिस्ट बनाएर जनतालाई देखाउनेछु।












