भारतभरिका गोर्खाहरूको राष्ट्रिय सामाजिक संस्था भारतीय गोर्खा परिसंघ (BGP) ले असम प्रदेश कंग्रेस समितिले आफ्ना प्रवक्ता शाहिजुद्दिन अहमदलाई गोर्खा जातिविरुद्ध कथित अपमानजनक टिप्पणी गरेपछि निलम्बन गरेको निर्णयलाई स्वागत गरेको छ।
परिसंघले जनाएको छ, हालै टेलिभिजन बहसका क्रममा गरिएको उक्त टिप्पणी गोर्खा समुदायको गरिमामाथि आघात पुर्याउने र अत्यन्त आपत्तिजनक रहेको भन्दै विभिन्न गोर्खा सङ्गठनहरूले कडा आपत्ति जनाएका थिए। भारतीय गोर्खा परिसंघले यसअघि नै उक्त विषयको कडा शब्दमा निन्दा गर्दै यदि सम्बन्धित व्यक्तिबाट बिना शर्त माफी मागिँदैन र उचित कारबाही हुँदैन भने कंग्रेस पार्टीको बहिष्कारसमेत गर्न बाध्य हुने चेतावनी दिएको थियो। अझ सो व्यक्ति यस विषयमा गोर्खा जातिसंग क्षमा याचना गरेको उचित रहने कुरा भागोपले जनाएको छ। नभए प्रवक्तालाई निलम्बन मात्र नभएर पार्टीबाट निष्काशित गर्न माग गरेको छ।
जारी विज्ञप्तिमा परिसंघका नेताहरूले असम प्रदेश कंग्रेस समितिका अध्यक्षप्रति “समयमै र दृढ” कदम चालेकोमा धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले यो निर्णयले कंग्रेस पार्टीले सबै समुदायप्रति सम्मान र सामाजिक सद्भाव कायम राख्ने आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतारेको सन्देश दिएको बताएका छन्।
परिसंघले कंग्रेस पार्टीले ऐतिहासिक रूपमा गोर्खा समुदायसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै आएको र विभिन्न समयमा शासनसत्तामा रहँदा गोर्खाहरूलाई विभिन्न तहमा प्रतिनिधित्व दिएको पनि स्मरण गराएको छ। साथै वरिष्ठ कंग्रेस नेता गौरव गोगोईले गोर्खा समुदायको पक्षमा निरन्तर आवाज उठाउँदै उनीहरूको सम्मान र अधिकारको विषय राष्ट्रिय मञ्चमा उठाउँदै आएको भूमिकाको पनि परिसंघले प्रशंसा गरेको छ।
परिसंघले विविधतायुक्त र लोकतान्त्रिक देश भारतमा कुनै पनि समुदायविरुद्ध गरिने अपमानजनक वा जातीय टिप्पणी कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ। यस घटनामा गरिएको कारबाहीले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन कडा सन्देश दिने विश्वास पनि व्यक्त गरिएको छ।
अन्त्यमा, परिसंघले सबै राजनीतिक दल र सार्वजनिक प्रतिनिधिहरूलाई आफ्नो अभिव्यक्तिमा जिम्मेवार बन्न र सबै समुदायबीच आपसी सम्मान तथा सद्भाव प्रवर्द्धन गर्न आग्रह गरेको छ।












