दार्जीलिङ, 6 फरवरी(निसं): कुखुराबाट शुरू भएको संक्रमण तथा देशन अहिले सुंगुरमा पनि देखिन थालेपछि पशुपालकहरू चिन्तित बनेका छन्। कुखुरामा देखिने गरेको संक्रमण तथा देशनले भटाभट कुखुरा मरेपछि अहिले देशनले गर्दा सुंगुरहरु पनि मर्न थालेको पशुपालकहरूले बताए।
सुंगुरहरु झोकरेर बस्ने,खाना नखाने अनि थरथर काप्ने गरेको केही दिनपछि मर्ने गरेको सुंगुर पालकहरु बताउँछन्। अहिलेघरि मिनरल स्प्रीङको आँपबोटे, गोदाम धुरा, यांखु आदि गाउँहरुमा देखिएको सुँगुरको यो संक्रमक रोग तथा देशनले धेरै पशुपालकहरूको सुँगुर मरेको उनीहरूको भनाइ छ भने यसले गर्दा धेरै आर्थिक नोक्शानी खप्न परिरहेको गुनासो पोखाएका छन्। दुःख गरेर स्याहार सुसार गरेर हुर्काएको पशुहरू यसरी देशनको कारणले मर्ने गरेकोले हतोत्साहित बनाएको उनीहरू भन्छन्।
यसै सन्दर्भमा यांखु निवासी पशुपालक सम्राट राई अनुसार आफ्नोमा सुंगुरको साना बच्चाहरू माउदेखि छुट्याउन तयारी छ अनि धेरैले मागेका पनि छन् तर यसरी देशन फैलिएको बेला दिनु पनि मिल्दैन।यो समयमा ती बच्चाहरु वितरण गरिन्दा देशन तथा संक्रमणले भेटे पशुपालकहरूलाई नोक्शान हुने भएकोले यसले मानिसहरूमा नकारात्मक सन्देश जाने हुनाले आफूले तयारी भएको बच्चाहरु वितरण नगरेको बताएका छन्।
अहिले यस क्षेत्रमा फैलिएको संक्रमण तथा देशनबारे दवाईपानी ग्राम पंचायतमा कार्यरत पशु सहायक पद्मलाल गुरुङसित जान्न चाहँदा धेरै पशुपालकहरूले उनीसित सम्पर्क गरेको अनि औषधि उपचारको निम्ति सुझाव तथा सरसल्लाह मागेको बताए। आफूले पनि औषधी वितरण गरेको तर ती औषधिले पनि त्यति प्रभाव नपरेको बताएका छन् र यो संक्रमण निक्कै प्रभावकारी रहेकोले सबै पशुपालकहरू सतर्क रहने र स्वास्थ्य पशुहरूलाई विरामी पशुहरूदेखि अलग्गै राखेर औषधि उपचार गर्ने सुझाव दिएका छन् साथै देशनको कारणले मरेको पशुहरू जथाभावी नफालेर जमीनमा निक्कै गहिरो खनेर गाड्ने सल्लाह दिएका छन्। कुखुरा, सुंगुर सहित बिरालोहरुमा देशनको लक्षण देखा परेको छ भने धेरैको बिरालोहरू पनि देशनको कारणले मरेको जानकारी रहेको छ।












