खरसाङ, (निसं)ः वर्तमानमा मौरी पालनमा राम्रो रोजगारको अवसर देखिएको छ। वर्तमानमा गाउँ-बस्तीका मानिसहरूले गाई-बाख्रा पालन गर्न छोड़ेका छन्, अम्लिसो बारी स्यार गर्न छोड़ेका छन्, दाउरा काट्न छोड़ेका छन्। यसो हुँदा विभिन्न क्षेत्रमा जंगल धेरै मात्रमा बढ़ेर गएको छ अथवा जंगलको संरक्षण राम्रोसित भएको छ। पर्याप्त जंगल बढ़ेको कारण मौरीलाई मह संकलन गर्नलाई सहज भएको छ। यसैले वर्तमानमा मौरी पालनको राम्रो अवसर रहेको मौरी पालकहरू बताउछन्।
खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज 3 ग्राम पञ्चायतको सातघुम्ती बस्तीका किशोर सुब्बाले वर्तमानमा मौरी पालनको राम्रो सम्भावना रहेको बताउदै आफूले 40 डुढ़सम्म मौरी बनाएको तर विभिन्न कारणले वर्तमानमा यो संख्या घटेर गएको बताए। तिनले वर्तमानमा मौरीको निम्ति पर्याप्त जंगल क्षेत्र रहेको बताउदै बजार व्यस्थापनको निम्ति सरकारी तौरमा पनि पहल हुन पर्ने बताए। तिनले आफूले उत्पादन गरेको मैरीको मह साई समितिले खरिद गरिदिने गरेको बताउदै मौरी पालनको निम्ति पनि साई समितिले विविध सहयोग प्रदान गरिरहेको बताए।
यसै बस्तीका केशव थापाले वर्तमानमा गाउँका धेरै मानिसहरूले गाई-बाख्रा पालन गर्न, अदुवाको खेती गर्न छोड़ेको बताउदै मौरी भने गाउँको धेरै घरमा रहेको बताए। तिनले भने, मौरी पालन गर्नको निम्ति वर्तमानको अवस्था अनुकुल छ, जंगल बढ़ेको छ, चिया बगानहरूमा किटनाशकको प्रयोग गरिन्दैन। यस्तो अवस्थामा मौरी राम्रोसित सप्रिन्छ तर मौरीलाई पनि समय दिन पर्छ। वर्षाकालमा मौरीमा लाग्ने विभिन्न प्रकारको किराबाट जोगाउनु पर्छ, जाड़ो महिनमामा मौरीको निम्ति हुन सक्ने खानाको अभावलाई विचार गरेर उपायहरू अपनाउन पर्छ। तिनले वर्तमानमा 12 सय रुपियाँ प्रति बोतल मौरीको मह बिक्री भइरहेको बताउदै असल तरिकाले व्यापक मात्रमा मौरी पालन गरिएको खण्डमा रोजगारको राम्रो सम्भावना रहेको पनि बताए।
वर्तमानमा जंगल क्षेत्र बढ़ेकोले बजार क्षेत्रमा पनि मौरी पालन गरिने गरिएको पाइएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर 4 स्थित डुमाराम बस्तीका केही मानिसहरूले मौरी पालन गरेका छन्। तिनीहरूले मौरीबाट राम्ररी मह उत्पादन भइरहेको बताएका छन्। यस प्रकार मौरी पालन गर्नेहरू गाउँ-बस्ती र शहरमा पनि रहेको भए तापनि मौरी पालन व्यवसायिक र वृहत मात्रमा भएको देखिएको छैन। मौरी पालनमा सरकार अनि जीटीएले सक्रिय कदम उठाएर सहयोग पुऱ्याएको अथवा बजार व्यस्था गरिदिएको खण्डमा खरसाङ्का धेरै मानिसहरूको निम्ति एउटा राम्रो व्यसाय बन्ने सम्भावना छ। तथापि मौरी पालनको निम्ति आधुनिक बाकस डब्लुडब्लुएफ अनि अन्य विभागले वितरण गरेको पनि कतिपय मौरी पालकहरूले बताएका छन्।












