खरसाङ, (सुवास छेत्री): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिको आयोजनामा शनिवार यहाँको टाउन कम्युनिटी हलमा एक साङ्गठनिक सभा सम्पन्न भयो। पार्टी संस्थापन अध्यक्ष अनित थापाको अध्यक्षतामा बसेको निर्देशनात्मक सभामा आगामी विधानसभा चुनाउमा भागोप्रमोले खरसाङ विधानसभा क्षेत्रसहित पहाड़को तीनवटै आशनमा जित्ने दावी पार्टी अध्यक्ष थापाले गरे। भागोप्रमोले तीनैवटा आशन जित्नेछ। हार्ने कुनै ठाउँ नै छैन, थापाले स्पष्ट पार्दै भने।
सभामा खरसाङ महकुमा अनि मिरिक अन्तर्गतका सोह्रवटा समष्टिका नेतृत्वहरू तथा भातृ संगठनका प्रतिनिधिहरू उपस्थित थिए। सभाको मुख्य विषय यसपल्टको विधानसभा चुनाउ रहेको थियो। अध्यक्ष अनित थापाले सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरू, कार्यकर्ताको रूपमा निष्ठापूर्ण काम गर्ने बताए। “हाम्रा नेताहरु पार्टीका कार्यकर्ता भएर काम गर्दछन्। चुनाउ जित्नुको निम्ति लड़िन्छ, हार्नु होइन। हाम्रो दैनिक वार्तालाप चुनाउ जित्ने कुरा वरिपरी हुनुपर्छ। हामी चुनाउ हार्ने कुरा गर्दैनौँ। हार्ने कुनै ठाउँ पनि छैन भनी थापाले भने। थापाले अझ भने- अरु पार्टीको अहिले सम्म कुनै तयारी छैन। तर भागोप्रमो चुनाउको पूर्ण तयारीमा छ। बुथ कमिटीमा सबै भातृ सङ्गठनको प्रतिनिधिलाई पनि लिएर बनाउनु पर्छ। दार्जीलिङ विधानसभा क्षेत्र हामी सजिलोसँग जित्नेछैाँ। खरसाङ शुरुवात मात्र हो। 8 फरवरीदेखि म समष्टि भ्रमण शुरु गर्नेछु।“ तिनले बुथ-स्तरीय शक्तिको बारेमा पनि उल्लेख गर्दै भने, “हरेक बुथमा क्यान्डरलाई जिताऔँ।“
खरसाङ महकुमा अन्तर्गत 52 जना प्रधान तथा उपप्रधान, 26 जना अध्यक्ष, 14 जना सभासद् र 3 सय 1 जना तृणमूल नेतृत्व रहेको जानकारी दिए। चुनाउ समय बारम्बार उठ्ने गोर्खाल्याण्डको मुद्दा माथि बोल्दै थापाले भने- “बीजेपीको कुनै शीर्ष नेताले गोर्खाल्याण्ड दिन्छु भनेको अन रिकर्ड नभएको र यो पहाड़का नेताहरूले फैलाएको हावा मात्र हो। “गोर्खाको समस्या, गोर्खाको सपना, पीपीएस भनेका छन्। बीजेपीले गोर्खाल्याण्ड दिन्छ भन्ने एउटा मार्केटिङ मात्र हो। भागोप्रमो जनताले स्वीकार गरिसकेको पार्टी हो।
सभामा युवा शक्तिका विज्ञान मिश्रले क्षेत्रीय दलहरू प्यारासाइट बनेर बीजेपीलाई पहाड़मा स्थापित गर्न खोजेको आरोप लगाउँदै युवा शक्तिले पार्टीको मेरुदण्ड बनेर चुनाउ जिताउन मैदान उत्रिने बताए। महकुमा नारी शक्ति अध्यक्ष सविता कार्कीले पार्टी नेतृत्वको भिजनलाई अनुसरण गर्दै नारी शक्तिले खरसाङ विधानसभा जिताउन हरेक घर पुग्ने प्रतिबद्धता जनाइन्। केन्द्रीय साङ्गठनिक सचिव रतन कुमार थापाले विगतका चुनावी हार र जीटीए, पञ्चायत जितको अनुभव साझा गर्दै चुनौतीलाई अवसर बनाएर 2026 को चुनाउ जित्ने दृढ़ता व्यक्त गरे। प्रणाम रसाईलीले सञ्चालन गरेको सभालाई पार्टीका अन्य नेतृत्वहरूले पनि सम्बोधन गरेका थिए।












