गोर्खाल्याण्डको निम्ति राष्ट्रिय मञ्चको अधिवेशनलाई लिएर तराईमा गोएस अभियन्ताहरूको पोष्टरिङ भइरहेको छ।
गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको पहलमा आउँदो २१ अनि २२ फरवरीको दिन “राष्ट्रिय मञ्च” को दुई दिने कार्यक्रम आयोजन हुने भएको छ। गोर्खाल्याण्ड गठनको सङ्घर्षलाई नयाँ ढङ्गले अघि बढाउँदै यो सङ्घर्षलाई राष्टव्यापी बनाउने राष्ट्रिय मञ्चको एकमात्र उद्देश्य रहेकाे छ। सिलगढ़ीको मेथिबारी स्थित चेली माइती भवनमा सम्पन्न हुने उक्त दुई दिने कार्यक्रमको प्रचार प्रसारमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको अभियन्ताहरुले आज तराईको बिभिन्न ठाउँहरुमा पोष्टरिङ गरेको छ।
सञ्योजक किशोर प्रधानको अगुवाईमा निस्किएको गोएस अभियन्ताहरुले सालबारी, मेथिबारी, सुकुना, सैनिकपुरी तथा दुधेमा पोष्टरिङ गऱ्यो।
स्मरण रहोस्, भारतीय गोर्खाहरुले आफ्नो राष्ट्रिय चिन्हारी अनि राजनैतिक सुरक्षा सुनिश्चित गर्न दीर्घ दिनदेखि गर्दै आएको छुट्टै राज्य गोर्खाल्याण्डको सङ्घर्ष वा आन्दोलनलाई लक्ष्यमा पुऱ्याउन भारतको प्रत्येक राज्यका गोर्खाहरुले आफ्नै सङ्घर्ष वा आन्दोलन मानेर यसमा सहभागिता जनाउनु पर्छ भन्ने कुरा गोएसले जनाउँदै आएको छ। तर त्यसको निम्ति सबै राज्यका गोर्खाहरुलाई एकत्रित गराउने राष्ट्रिय मञ्चको आवश्यकता थियो। त्यसको निम्ति निरन्तर लागी परेको गोएसले गत वर्षको दिसम्बर महिनामा बिभिन्न राज्यका गोर्खा प्रतिनिधिहरुलाई लिएर दिल्लीमा राष्ट्रिय एसेम्बलीको आयोजना गरेको थियो अनि त्यसै एसेम्ब्लीमा सर्वसम्मतिले राष्ट्रिय मञ्च गठन गर्ने प्रस्ताव ग्रहण गरेको थियो। त्यसपछि कार्बीआङ्लोङका जातीय चिन्तक तथा बौद्धिक व्यक्तित्त्व लोकनारायण सुब्बा अनि गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका सञ्योजक किशोर प्रधानलाई सञ्योजकको कार्यभार सुम्पिएर अस्थायी राष्ट्रिय मञ्च गठन गरिएको थियो। अब यसलाई पूर्ण रूप दिन तथा स्थायी राष्ट्रिय मञ्चको स्वरुप प्रदान गर्न सिलगढ़ीको सालबारीमा प्रथम अधिवेशन सम्पन्न हुने भएको छ।
दुई दिने कार्यक्रमको प्रथम दिन राष्ट्रिय मञ्च गठनको प्रकिया शुरू हुनेछ। जसमा गोर्खाल्याण्ड गठनलाई आवश्यकताको रूपमा मान्ने बिभिन्न राज्यका गोर्खा बुद्धिजीवी तथा राजनैतिक सचेतक व्यक्ति विशेषहरु पनि अतिथी वक्ताको रूपमा उपस्थित रहने छन् भने दोस्रो दिन युवा निर्वाचिका सभाको आयोजना गरिनेछ। यसमा बिभिन्न राज्यका युवाहरुको विशेष उपस्थिति रहने छ। उक्त दुई दिवसीय कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन जन सहभागिताको अपेक्षा राख्दै गोएसले प्रचार प्रसारको कार्य शुरू गरेको छ।












