खरसाङ, (हनोक): खरसाङको गिद्ध पहाड़स्थित नेताजी म्युजियम एंव नेताजी इन्स्टिच्युट फर एसियन स्टडिसमा नेताजी सुभाषचन्द्र बसुको 129 औँ जन्म वार्षिकी समारोह सम्पन्न भएको छ। खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग र नेताजी म्युजियमको संयुक्त आयोजनामा नेताजी सुभाषचन्द्र बसुको 129 आैँं जन्म वार्षिकी समारोह शुक्रबार सम्पन्न भएको छ। उक्त समारोह नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानको अध्यक्षता र खरसाङ्को डेपुटी मेजिस्ट्रेट देवाज्योति बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पीडब्ल्युडी विभागका सहायक अभियन्ता सञ्जयकुमार रोय, भारत स्काउट एण्ड गाइडका जोगेन्द्र प्रसाद, गोर्खा जनपुस्तकालयका उप सभापति कृष्ण पाण्डे, वरिष्ठ सदस्य कुमार मंग्राती आदि उपस्थित रहेका थिए।
सूचना अनि सांस्कृतिक विभागको खरसाङ्का कर्मचारी निमा शेर्पाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण विभागीय अधिकारी दिपककुमार कर्माकारले राखेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको लोक प्रसार प्रकल्पका कलाकारहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेका थिए। उक्त श्रद्धाञ्जली कार्यक्रम नेताजीको जन्मको समय 12 बजेर 15 मिनटमा साइरन बजाएर कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा नेताजी सुभाषचन्द्र बोसको सालिगमा अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन साथै माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित डेपुटी म्याजिस्ट्रेट देवाज्योति बरालले आफ्नो सम्बोधनमा खरसाङ्को गिध्द पहाडस्थित नेताजीको घर धेरै अर्थमा महत्वपूर्ण रहेको बताउँदै नेताजीको विषयमा आगामी पुस्ताले पनि जान्न आवश्यक रहेको बताए। उनले यही घरबाट धेरै महत्वपूर्ण कार्यहरु गरेको र यहाँ उनलाई ब्रिटिश सरकारले नजरबन्द गरेर राखेको बताए। उनले यो घर अहिले नेताजी म्युजियम बनेको र यसमा पर्यटकहरु धेरै आउने गरेको पनि बताएका छन्।
वक्तव्यको क्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित पीडब्ल्युडीको एई सञ्जयकुमार रोयले नेताजी सुभाषचन्द्र बसुको सम्झना गर्दै गिद्ध पहाड़स्थित नेताजी सुभाषचन्द्र बसुको घर महत्वपूर्ण रहेको र यस घरबाट नै नेताजी सुभाषचन्द्र बसुले धेरै महत्वपूर्ण कार्यहरु गरेको जानकारी गराएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानले राखेका थिए। कार्यक्रमको अन्त्यमा राष्ट्रिय गान गाएर कार्यक्रम समाप्त गरिएको थियो। नेताजी सुभाषचन्द्र बसुको 129 औंँ जन्म वार्षिकी समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नेताजी म्युजियम गिद्ध पहाड़को इन्चार्ज गणेश प्रधानले विस्तृत रुपमा जानकारी गराउँदै यो घर नेताजीको दाजु शरदचन्द्र बसुले किने र यही घरमा नै नेताजीलाई ब्रिटिश सरकारले नजरबन्द गरेर राखेको जानकारी गराएका छन्। उनले यो घरलाई 2000 सालदेखि सरकारले नेताजी म्युजियमको रुपमा शुरु गरिएको जानकारी गराएका छन्।












