खरसाङ, (निसं): भागोप्रमो खरसाङ टाउन कमिटीले एसआईआर सम्बन्धनमा समस्या झेलिरहेका जनसाधरणलाई सहयोग गर्नको निम्ति बुधवारदेखि कार्य आरम्भ गरेको छ। जनसाधरणलाई सहयोग गर्नको निम्ति पार्टीको टाउन कमिटीको एउटा टोली खरसाङ महकुमा शासक कार्यालय परिसरमा बसेको छ। यस टोलीले एसआईआरको सुनवाई नसकेसम्म महकुमा शासक कार्यालयमा बस्ने बताइएको छ।
यस बारेमा जनाउदै भागोप्रमो खरसाङ टाउन कमिटीका सचिव वीरबल पाख्रीनले भनेका छन्, वर्तमानमा भारत निवार्चन आयोग द्वारा मतदाता गहन पुनः निरीक्षण (एसआईआर) को सुनवाई प्रक्रिया खरसाङ नगरपालिका अन्तर्गत विभिन्न बुथको निम्ति खरसाङ महकुमा कार्यलयमा चलिरहेको छ। यस सुनवाई प्रक्रियामा जनसाधारणले फर्म भर्नु, पत्र लेख्नु, कागज पत्र मिलाउनु साथै अन्य विविध कार्य गर्नु पर्ने हुन्छ। जानकारीको अभावमा जनसाधरणले धेरै असुविधा भोगिरहेका छन्। यी सबै कुरालाई ध्यानमा राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको पहल साथै पार्टीका केन्द्रीय समिति अध्यक्ष अनित थापाको परामर्शमा पार्टीको पक्षबाट महकुमा कार्यलय परिसरमा बुधवारदेखि असुविधामा परेका वा अज्ञानताको कारण समस्या भोगिरहेका जनसाधारणलाई सहयोग गर्ने कार्य गरियो।
पाख्रीनले बताए अनुसार यस टोलीमा भागोप्रमो खरसाङ टाउन कमिटी मूल सचिव स्व, वीरबल पाख्रीन, महकुमा नारी शक्ति सभानेत्री तथा खरसाङ चुनाउ प्रभारी सविता कार्की, भागोप्रमो खरसाङ टाउन कमिटी उपाध्यक्ष सन्तोष परी, सञ्जय मुखिया, सह सचिव रमोद गुरूङ, कोषाध्यक्ष राजेन प्रधान, सह प्रचार प्रसार सचिव रवी तोलाङी, कार्यकारिणी सदस्यहरू उपस्थित थिए। एसआईआरको सुनवाई प्रक्रियाले जनसाधारणले धेरै दुःख पाइरहेको गुनासो जनमानसबाट सुन्न पाइयो, त्यसर्थ भारत निर्वाचन आयोगले बीजेपी सरकारको इशारामा कार्य नगरेर स्वतन्त्र रूपमा पहल गर्नु पर्ने सुझाव सचिव श्री वीरबल पाखरीनले राखेका छन्।












