खरसाङ, (निसं): प्रशान्त तामाङलाई श्रद्धाञ्जली अर्पण गर्नको निम्ति आवाज गैरसरकारी सामाजिक कल्याण संस्थाले एउटा प्रार्थना सभाको आयोजना गऱ्यो। संगठनका सदस्यहरू सकुन लामा, प्रणिता गुरुङ, सङ्गीता प्रधान, भक्त मुखिया, राजु सुब्बा, सम्भू कुमार राई, तेञ्जिङ शेर्पा अनि अन्यान्यको उपस्थितिमा सम्पन्न भएको यो प्रार्थना सभामा सबैले प्रशान्त तामाङको निधनमा गहिरो शोक प्रकट गर्दै दिवंगत आत्मप्रति श्रद्धाञ्जली अर्पण गरे। यो दुःखको घड़ीमा परिवारका सदस्यहरूले ईश्वरबाट सहने शक्ति प्राप्त गरुन् भनी सदस्यहरूले प्रार्थना पनि गरे। सभामा वक्ताहरूले प्रशान्त तामाङको निधनमा सङ्गीत अनि कलाकार क्षेत्रले गुमाउनु परेको यो कमीलाई पुरा गर्न निकै गाह्रो पर्ने पनि बताए।
सभामा वक्तव्य राख्दै सङ्गठनका अध्यक्ष लेाक नारायण प्रधानले भने, प्रशान्त तामाङले आफ्नो गायन कला साथै अभिनयको जादुले सबैलाई मोहित तुल्याएका थिए। उनको गीत सबैले रुचाएर गुनगुनाएका पाउछौँ। उनका गीति एल्बमहरू सबैले सामाजिक सञ्जालगहरूमा हेर्ने गर्छन्। प्रशान्त तामाङ सबैको मन-मस्तिष्कमा बसेका एक लोकप्रिय कलाकार थिए। आज उनको निधनले सम्पूर्ण देश, समाज, क्षेत्र स्तब्ध बनेका छन्। प्रसान्त तामाङ गायक मात्र थिएनन्, तिनी एक कुशल कलाकार, अभिनेता पनि थिए। स्व0 तामाङले बेटल अफ गलवान जस्ता बलिवुड चलचित्रहरूमा अभिनय गरिसकेका छन्। यस चलचित्रमा उनले बलिवुड सुपरस्टार सलमान खानसित अभिनय गरेका छन्।
लोकनारायण प्रधानले अघि भने, प्रशान्त तामाङ नेपाली-गोर्खा जातिका एक उज्जवल तारा थिए, तिनी बितेर जाँदा आवाज गैर सरकारी संस्था गहिरो शोकमा परेको छ। यस दुःखको घड़ीमा परिवारका सदस्यहरूले ईश्वरबाट सहने शक्ति प्राप्त गरुन् भनी प्रार्थना गर्दछौँ। सन् 1983 मा जन्म लिएका प्रशान्त तामाङ इण्डियन आइडल सिजन 3 का विजेता थिए। 11 जनवरीको दिन तिनको निधनको खबर सुनेर हामी स्तब्ध बनेका थियौँ।












