दार्जीलिङ लोकसभाका सांसद र भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट शुक्रबार कालेबुङस्थित श्री कृष्ण प्रणामी धर्मसभा, शाखा-१७ द्वारा आयोजित स्वर्ण जयन्ती महोत्सव, ५१ पारायण, तथा श्री कृष्ण प्रणामी सत्संग भवनको उद्घाटन समारोहमा सहभागी भएका थिए। उऩले भगवान श्री कृष्णको आशीर्वादले, सत्संग भवनले भविष्यमा यहाँका आध्यात्मिक तथा समाजोपयोगी गतिविधिहरूलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास आफुले लिएको बताए।
यस पुण्य अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेको पनि उपस्थिति रहेको थियो। आफ्ना कथा-वाचन, दिव्य वचन तथा सांस्कृतिक-आध्यात्मिक कार्यक्रमहरूद्वारा सम्पूर्ण श्रद्धालुहरूलाई लाभान्वित गराउनुहुने मंगलधाम, कालेबुङका पीठाधीश्वर परम पूज्यगुरुजी १०८ श्री मोहन प्रियाचार्यजी महाराज, सिंगताम, सिक्किमका परमआदरणीय श्री रोहित राजजी महाराज, साथै अन्य सम्पूर्ण सन्तगण, कथा वाचक तथा सांस्कृतिक कर्मीहरूप्रति विष्टले विशेष धन्यवाद व्यक्त गरे।
यस महोत्सवअन्तर्गत आयोजना गरिएका वाणी चर्चा, श्रीमद्भागवत् कथा, धार्मिक शिविर तथा विविध सांस्कृतिक कार्यक्रमहरूले मलाई मात्र होइन, यहाँ उपस्थित सम्पूर्ण भक्तजनहरूलाई गहिरो आध्यात्मिक आनन्द र मानसिक शान्ति प्रदान गरेको छ। यस्ता निर्मल र उदात्त कार्यक्रममार्फत आध्यात्मिक सुखको अनुभूति गर्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक समितिप्रति उनले हृदयदेखि नै कृतज्ञता व्यक्त गरे।












