
नेपाली समकालीन साहित्यका चर्चित सर्जक सुविन भट्टराई र डा. नवराज केसीको उपस्थितिमा सिलगढीमा एक विशेष साहित्यिक संवाद कार्यक्रम सोमबार सम्पन्न भएको थियो। हम्रो किताब घर र क्याफे दी ट्वीन्सको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले पाठक, सर्जक र साहित्यप्रेमीहरूलाई एउटै मञ्चमा जोड्न सफल भएको थियो।
कार्यक्रममा डा. नवराज केसीसँग वरिष्ठ पत्रकार अनुराधा शर्माले “जीवनको मूल्य” विषयमा अर्थपूर्ण संवाद गरेकी थिइन्। संवादमा जीवन, मानवीय मूल्य, चेतना र साहित्यको सामाजिक भूमिकाबारे गहिरो छलफल गरिएको थियो।
त्यस्तै, लेखक सुविन भट्टराईसँग कवि अजित विश्व वियोगीले “पुस्तक, प्रेम र नयाँ पुस्ता” विषयमा संवाद गरेका थिए। संवादका क्रममा सुविन भट्टराईले नयाँ पुस्ताको सोच, प्रेमको अभिव्यक्ति र समकालीन साहित्यप्रतिको रुचिबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए।
कार्यक्रमको सुरुआत क्याफे दी ट्वीन्सकी संस्थापक लेखा राईको स्वागत सम्बोधनबाट भएको थियो। कार्यक्रममा सहभागी सर्जक सुविन भट्टराई र डा. नवराज केसीलाई वरिष्ठ कविहरू मोहन ठकुरी र ज्ञानेन्द्र खतिवाडाले खदा–माला अर्पण गर्दै सम्मानपूर्वक स्वागत गरेका थिए।
कार्यक्रममा कवि प्रणय शंकर र दावा योन्जनले कविता पाठ गर्दै साहित्यिक वातावरणलाई अझ जीवन्त बनाएका थिए। उनीहरूको कविताले दर्शक–पाठकबाट उत्साहजनक प्रशंसा पाएको थियो।
नेपालको प्रख्यात प्रकाशन गृह फाइन प्रिन्टको टोलीलाई बेथल इनफ्रा प्रोजेक्ट लिमिटेडका निर्देशक अमृत विश्वकर्माले श्रद्धा–माला लगाएर स्वागत जनाएका थिए। यस अवसरमा फाइन प्रिन्टका सह–संस्थापक निरज भारीले कार्यक्रमलाई सम्बोधन गर्दै भने,
“भारतीय लेखक छुदेन काबिमोको कृति ‘उरमाल’ले मदन पुरस्कार पाउँदा पुरस्कार आफै सम्मानित भएको छ। सर्जकहरूले जीवनका लागि लेख्नुपर्छ- त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो।”
कार्यक्रमको अन्त्यमा निर्देशक अमृत विश्वकर्माले साहित्य समाजको अभिन्न अङ्ग भएको उल्लेख गर्दै भने,“साहित्यिक अभियानसँग जोडिन पाउनु हाम्रा लागि गर्वको विषय हो। यसअघि ‘उरमाल यात्रा’मा जोडिन पायौँ, जुन कृतिले मदन पुरस्कार जित्यो। साहित्य र हाम्रो यो सम्बन्ध सधैँ अटल रहनुपर्छ।”
कार्यक्रमपछि उपस्थित पाठकहरूले सर्जकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै किताब हस्ताक्षर (बुक साइनिङ) गराएका थिए। यसले पाठक–सर्जक सम्बन्धलाई अझ नजिक बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
सिलगढी, दार्जीलिङ, सिक्किम, डुवर्स तथा आसपासका क्षेत्रका साहित्यप्रेमी, पाठक र युवाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन हाम्रो किताब घरका संस्थापक छेवाङ योञ्जनले गरेका थिए। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।












