खरसाङ, (निसं): पश्चिम बंगाल नेवार संस्कृति विकास बोर्ड अनि नेवार बुद्धिष्ट कल्याण संगठनले संयुक्त रुपमा खरसाङ महकुमा शासक एवम् पश्चिम बंगल नेवार संस्कृति विकास बोर्डका मेम्बर सेक्रेटरी प्रिया यादवसित बैठक गरेको जानकारी प्राप्त भएको छ। खरसाङ्को पङ्खाबारी रोडस्थित पश्चिम बंगाल नेवार विकास बोर्डको कार्यालयमा सम्पन्न भएको यस बैठकमा नेवार विकास बोर्ड अनि नेवार बुद्धिष्ट कल्याण संगठनद्वारा महकुमा शासक यादवलाई खदा लगाएर स्वागत जनाइएको थियो। यस बैठकमा नेवार विकास बोर्डले तयार गरेको नयाँ लाखे टोलीसित महकुमा शासकको परिचय गराइयो। महकुमा शासकसितको चर्चामा खरसाङको डब्लुबीएनभीएफमा आयोजना गरिने गणतन्त्र दिवसमा नयाँ लाखे टोलीले लाखे नृत्य प्रदर्शन गर्ने निर्णय गरियो।
यस बैठकको बारेमा बताउदै पश्चिम बंगाल नेवार संस्कृति विकास बोर्डका अध्यक्ष एवं नेवार बुद्धिष्ट कल्याण सङ्गठनका पनि अध्यक्ष रहेका सुनिल प्रधानले भने, महकुमा शासकलाई हामीले नेवार विकास बोर्डको कार्यालयमा निमन्त्रण गरेर तिनीसित एउटा बैठक गरी स्वागत जनाएका छौँ। खरसाङ महकुमा शासक स्वतः पश्चिम बंगाल संस्कृति विकास बोर्डका मेम्बर सेक्रेटरी रहन्छन्। महकुमा शासक साथै बोर्डका मेम्बर सेक्रेटरी रहेको नातामा हामीले तिनीसित लाखे टोली, नेवार बुद्धिष्ट गुम्बा चिवा अनि अन्य विषयमा चर्चा गऱ्यौँ। नेवार बुद्धिष्ट गुम्बा चिवा निर्माणको निम्ति जग्गा हेर्ने सुझाउ दिँदै यसको प्रक्रियालाई माथिल्लो स्तरमा अघि बढ़ाइदिने तिनले आश्वासन दिइन्। तिनले नेवार विकास बोर्डद्वारा तयार पारिएको लाखे नृत्य टोलीलाई सरकारबाट प्राप्त हुने विभिन्न सहुलियतहरू उपलब्ध गराइदिने आश्वासन पनि दिइन्।
सुनिल प्रधानले अघि भने, नेवार बुद्धिष्ट गुम्बा चिवा निर्माणको निम्ति मख्यमन्त्रीले तिनी पहाड़ आएकी समय 2018 मा जग्गाको निम्ति तत्कालिन दार्जीलिङ जिल्ला शासकलाई निर्देश दिएकी थिए। त्यस समय हामीले खरसाङ नगरपालिका क्षेत्रमा जग्गा खोज्ने कार्य गरेका थियौँ तर अब हामी ग्रामीण क्षेत्रमा जग्गा खोज्ने कार्य गर्नेछौँ। नगरपालिका क्षेत्रमा जग्गा पाउन धेरै गाह्रो भयो। खरसाङ्मा एउटा नेवार बुद्धिष्ट गुम्बा चिवा निर्माण गर्न सकिएको खण्डमा यसले बुद्धिष्ट नेवारहरूलाई मात्र होइन यस क्षेत्रको पर्यटन विकासमा पनि ठूलो सहयोग मिल्नेछ भन्ने हामीलाई विश्वास छ। प्रधानले वर्तमानमा नेवार विकास बोर्ड लगायत कुनै पनि विकास बोर्डमा विकासको कोष नआएको तर कार्यालय खर्च भने सरकारले बेहोरिरहेको बताए। तिनले भने, अहिलेसम्म कुनै विकासको कोष आएको छैन, वर्तमानमा विकास बोर्डहरूमा अडिट चल्दैछ। यो अडिट सकिएपछि अवश्यै विकासको निम्ति कोष प्राप्त हुनेछ, किनकी मुख्यमन्त्रीले अडिटपछि सही प्रकारले चलिरहेका विकास बोर्डहरूलाई विकासको निम्ति कोष प्रदान गर्ने बताइसकेकी छन्।
उक्त कार्यक्रमलाई नेवार बुद्धिष्ट कल्याण सङ्गठनका केन्द्रीय समिति सचिव पुष्प प्रधानले सञ्चालन गरेका थिए भने कार्यक्रममा सङ्गठनकी तराई क्षेत्र संयोजिका माया प्रधान, खरसाङ महकुमा समिति अध्यक्ष गणेश प्रधान अनि अन्यान्यान्य उपस्थित रहेका थिए।












