भारतीय नेपाली साहित्य समाजका शताव्दि पुरूष हायमान दास राई “किरात”को नाउँमा थालिएको पहिलो पुरस्कारद्वारा गोरूबथानकै, कथाकार, गायक सङ्गीतकार, निर्माता-निर्देशक समीर राई “शान्ति”लाई अलङ्करण गरिएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागद्वारा अगमसिंह गिरी जयन्तीको उपलक्ष्यमा गिरी पुरस्कारसङ्गै अन्य पुरस्कारहरूद्वारा पनि अलङ्कर गरिन्छ। यहीक्रममा समीर राई “शान्ति”लाई पहिलो हायमान दास राई “किरात” पुरस्कारद्वारा अलङ्करण गरिएको हो। यसमा नगद एकलाख रुपियाँ, सम्बर्द्धना-पत्र, मायाको चिनोलगायत अङ्गवस्त्र अनि शिरशोभा रहेको थियो। स्मरण रहोस् समीर राई “शान्ति”को कृतिहरूमा पहिलो “विप्लवी पहाडका कथाहरू” (कृष्ण चामलिङसङ्गको संयुक्त कृति) 1985 मा प्रकाशित भएको थियो।
यसै गरी उनका अन्य कृतिहरूलगायत चारवटा लघु चलचित्रहरू निर्माण गरिएका छन्। यसै गरी विभिन्न गीचि अलबमहरू पनि निर्माण गरिएका छन्। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागका सभासद अनोश थापाद्वारा अध्यक्षता गरिएको समारोहमा जीटीएसभाका प्रमुख अञ्जुल चौहान प्रमुख अतिथि थिए। विशिष्ट अतिथिहरूमा सङ्गीतकार कर्म योञ्जन, साहित्यकार डा. गोकुल सिन्हा, डा. जस योञ्जन “प्यासी” सभासदहरू कल्पना प्रधान, रतन थापा, परेश तिर्कीलगायत गोर्खा समाजका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागद्वारा गोर्खा समाज र देशलाई उँभो लाउने विभिन्न क्षेत्रका प्रतिभाहरूलाई पुरस्कारहरूद्वारा पनि अलङ्करण गर्दै आइरहेको छ।
यसक्रममा इन्द्रजीत मिजारलाई 27 दिसम्बरमा नै अलङ्करण गरिसकेको थियो। क्रमशः सिलगढी नजीक सालबारीको मेथीबारीमा अवस्थित चेली-माइती सामुदायिक भवनमा आयोजित समारोहमा यो वर्ष साहित्यकार समशेर अली, राजु प्रधान “हिमांशु” गायक-सङ्गीतकार सुरेश कुमार छेत्री लगायत मन्त्र ब्यान्डलाई अलङ्करण गरेको थियो।












