खरसाङ, (सुवास छेत्री): आगामी विधानसभा चुनाउमा चिया श्रमिकहरूको दैनिक रोज चुनावी मुद्धा बन्न सक्ने सम्भावना देखा परेको छ। अहिले दार्जीलिङ पहाडका चिया श्रमिकहरूको दैनिक रोज दुइ सय पचास रूपियाँ मात्र छ। जसले चिया श्रमिकहरूको दैनिक जीवनयापनमा निक्कै असर गरेको छ। वर्तमान चिजबिजको आकासिँदो मूल्यवृद्धिको कारण केवल दुइसय पचास रूपियाँले जीवन धान्न उनीहरूलाई हम्मे हम्मे पर्दछ। आफ्ना नानीहरूलाई भनेजस्तो शिक्षा दिन अथवा खान-लगाउन दिन नसक्दा उनीहरू दुःखी हुन्छन् औ आक्रोश व्यक्त गर्छन्। यस्तो स्थितिमा यसपल्ट चुनाउको समय यहाँका राजनीतिक दलहरूले चिया श्रमिकहरू माझ दैनिक रोज वृद्धिको कुरालाई लिएर चुनाउ प्रचारमा जान सक्छ्न। त्यसो त केहीदिन अघि मात्रै भारतीय जनता पार्टी (भाजपा) ले चिया श्रमिकहरूको दैनिक हाजिरा आठसय गर्ने वाकालती गरिरहेको थियो भने यता पश्चिम बंगाल राज्य सरकार अधिनस्थ तृणमूल कङ्ग्रेसले तीनसयभन्दा अधिक बनाउने सङ्कल्प लिइरहेको छ। यता पहाडको सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि तृणमूल काङ्ग्रेसको अडानलाई समर्थन जनाउँदै अवश्यनै चिया बगान श्रमिकहरूको रोज वृद्धिको निम्ति उचित पसल गर्ने बताइरहेको छ। पहाडका अन्य राजनीतिक दलहरूले पनि अघिबाटै चिया श्रमिकहरूको दैनिक रोजबारे अहिलेदेखि नै आवाज उठाइरहेका छन् मुद्धा चिया श्रमिकहरूको दैनिक रोज वृद्धि नै हुने प्रायः निश्चित देखिन्छ।












