दार्जीलिङ जिल्ला अन्तर्गत लोधोमा मुकलिङ गाउँका स्थानीय बासिन्दा गौतम राईले आफ्नो अद्वितीय हस्तकला र सिर्जनामार्फत सबैको ध्यान आकर्षित गरिरहेका छन्। राईले माटोको प्रयोग गरेर निर्माण गरेका स-साना घरहरू यति सटिक र जीवन्त छन् कि, तस्बीरको पृष्ठभूमिमा देखिने वास्तविक दृश्यसँग मेल खाँदा ती दुरुस्तै वास्तविक घरझैँ देखिन्छन्। आफ्नो घरमा कलात्मक ढंगले सजाएर राखिएका यी घरहरूले उनको असाधारण शिल्पकलालाई उजागर गर्दछ। केवल घर निर्माणमा मात्र सीमित नरही, राईले भगवान शिव, शंकर, र माता सरस्वती लगायत विभिन्न देवी-देवताका मनमोहक प्रतिमा र चित्रहरू समेत कोर्दै आएका छन्। कला र शिल्पका साथै संगीतमा पनि उत्तिकै दख्खल राख्ने उनी एक कुशल मेन्डोलियन वादक समेत हुन्। ग्रामीण भेकमा लुकेर रहेका यस्ता प्रतिभावान कलाकारको यो अनुपम कला र साधना साँच्चै उच्च सम्मानको योग्य छ।












