खरसाङ, (निसं): पश्चिम बंगाल सरकारद्वारा पुलिस भर्तीको लिखित परीक्षा उत्तीर्ण भएका पहाड़का प्रार्थीहरुलाई आगामी 8 जनवरीदेखि शारीरिक परीक्षामा बोलाइने र यसको लागि पहाड़का प्रार्थीहरुले डोमिसिएल बुझाउने पर्ने हुन्छ। जुन खण्ड विकास कार्यालय र महकुमा शासकको कार्यालयबाट प्रदान गरिन्छ। तर हालमा एसआईआरको कारणले डोमिसिएल समयमा पाउन नसक्ने स्थिति देखा परेको छ। यस्तो परिस्थितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले पश्चिम बंगाल सरकारको पुलिस महानिर्देशक (डीजीपी) लाई पत्रचार गरेर पहाड़का प्रार्थीहरुका लागि विशेष रुपमा समयसीमा बढ़ाई दिने नत्र शारीरिक परीक्षा सकेर पछिबाट डोमिसियल बुझाउन सक्ने प्रावधान रहेको होस् भनी अनुरोध गरेका छन्। यस विषयमा आज खरसाङ्मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय महासचिव अमर लामा, खरसाङ महकुमा समितिको महासचिव एवं सभासद प्रमाण रसाइली, सभासद नुरी शेर्पा, युवा शक्ति खरसाङ टाउन कमिटीको कार्यवाहक अध्यक्ष बन्दन लामा लगायत अन्यले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय महासचिव अमर लामाले पुलिसको लिखित परीक्षा उत्तीर्ण गरेका पहाड़का प्रार्थीहरुलाई चाहिने डिमोसियल एसआईआरको कारणले काम नभइरहेको र यसको लागि पुलिस भर्तीको लागि चाहिने डोमिसियल बुझाउन केही समय दिनु पर्ने नत्र पछिबाट पनि बुझाउन सकिने प्रावधान हुन पर्ने माग गरिएको बताएका छन्।
उनले भने, पश्चिम बंगाल सरकारको पुलिस भर्ती बोर्डले लिएको लिखित परीक्षामा उत्तीर्ण प्रार्थीहरुलाई आगामी 8 जनवरीदेखि शारीरिक परीक्षामा बोलाइने र यसको लागि पहाड़का प्रार्थीहरुको लागि डोमिसियल प्रमाण पत्र चाहिने तर वर्तमानमा एसआईआरको कामले डोमिसियलमा ढिलाई हुने भएकोले प्रार्थीहरुलाई असुविधा हुनसक्छ। त्यसैले यस विषयमा पार्टी अध्यक्ष अनित थापाले राज्यको डाईरेक्टर जेनेरल अफ् पुलिस डीजीपीलाई पत्रचार गरेर डोमिसियल प्रमाण पत्रमा हुने ढिलाईलाई हेरेर समय सीमा बढ़ाई दिने वा पछिबाट बुझाउन सक्ने प्रावधान राखिनु पर्ने विषय उठान गरेका छन्। यसको साथै यस विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लागि परेको र लिखित परीक्षा उत्तीर्ण गरेका प्रार्थीहरुलाई कुनै असुविधा नहोस् भनेर कार्य गरिरहेको र कसैलाई केही समस्या भएमा सम्पर्क गर्न सक्नेछन् भनी लामाले बताएका छन्।












