बागडोग्रामा भएको कुटपीट घटनाकाे कारण एक व्यक्तिको ज्यान गएको प्रकरणमा बागडोग्रा पुलीसले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान बिट्टु साहनी र नितेश कुमारका रूपमा गरिएको छ। प्राप्त जानकारीअनुसार, ३१ डिसेम्बरको दिन पुटीमारी क्षेत्रमा पिकनिक चलिरहेकै समयमा केही युवाहरू र मृतक निखिल लोहारबीच वादविवाद भएको थियो। सामान्य विवादबाट शुरु भएको झगडा पछि गएर बल प्रयोग सहितको कुटपिटमा परिणत भयो। कुटाइको क्रममा निखिल लोहारलाई गम्भीर चोट लागेको र उनको एउटा पोल्सा (रिब) समेत भाँचिएको बताइन्छ। यिनै गम्भीर चोटपटकका कारण उनको मृत्यु भएको पुलीस स्रोतले जनाएको छ।
घटना सार्वजनिक भएपछि मृतककी श्रीमती अष्टमी लोहारले बागडोग्रा पुलीस चौकीमा लेखित उजुरी दिँदै घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिहरूविरुद्ध कडा कारबाहीको माग गरेकी थिइन्। उजुरीपछि आरोपीहरू फरार भएका थिए, जसपछि पुलीसले मुद्दा दर्ता गरी हत्या सम्बन्धी अनुसन्धान सुरु गर्यो।
सोमबार राति पुलीसको विशेष टोलीले अनुसन्धान गर्ने क्रममा बागडोग्राको तर्बन्दा क्षेत्रबाट बिट्टु साहनी र नितेश कुमारलाई फेला पारी पक्राउ गर्यो। उनीहरूलाई मंगलबार सिलगढी सब-डिभिजनल अदालतमा उपस्थित गराइएको छ।
पुलीसका अनुसार यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने आशंका भएकाले खोजी र अनुसन्धान अझै जारी राखिएको छ। पुलीसले स्थानीयबासीलाई सहयोग गर्न तथा घटनाबारे यथार्थ जानकारी उपलब्ध गराउन पनि आग्रह गरेको छ।












