महिला सशक्तिकरणका साथ आत्मनिर्भरता बल्ने मोमबत्तीहरू

Share this news

नारी दर्पण 

सञ्जय प्रधान      

जब हामी ‘मोमबत्ती’ भन्ने शब्द सुन्छौं, मनमा पहिलो छवि आउँछ-बिजुली नहुँदा बालिने एउटा साधारण सेतो मोमबत्ती। तर दक्षिण सिक्किमको नाम्चीमा यस धारणा उल्ट्याउने एउटा सशक्त उदाहरण छ-‘नाम्ची डिजाइनर क्यान्डल्स’। मोमबत्तीलाई केवल उज्यालोको साधन होइन, कला र आत्मनिर्भरता प्रकट गर्ने माध्यम बनाएको छ महिलाहरूको यस स्वनिर्भर समूहले।

बीस रुपियाँको सानो मोमबत्तीदेखि लिएर पाँच हजार रुपियाँसम्मको साढे तीन फीट अग्लो कलात्मक मोमबत्ती बनाउँदै, यी महिलाहरूले सृजना, संघर्ष र सफलता जोड़िएको एउटा प्रेरणादायक यात्रा सन् २०१२ देखि शुरु गरेका छन्। ‘नाम्ची डिजाइनर क्यान्डल्स’ले आफ्नो तेह्र वर्षको यात्रामा सिक्किममा मात्र होइन, राष्ट्रिय स्तरमै स्वनिर्भर समूहहरूमा आफ्नो उद्यमको परिचय स्थापित गर्न सफल भएको छ। यसका टीम लिडर स्मिता राईको नेतृत्वमा यो समूह महिलाहरूको सीप, सामर्थ्य र सम्भावनालाई उजागर गर्ने गतिशील शक्ति बनेको छ।

सबै महिलामा कुनै न कुनै सीप हुन्छ, त्यसलाई उजागर गर्नुपर्छ

सन् २०१२ मा नर्थईष्ट डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युट (एनईडीएफआई)को कार्यालय सिक्किमभित्र गान्तोक र नाम्चीमा खोलिएको थियो। यसैको सीएसआर (कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी)बाट केही कार्य गर्नुपर्ने हुँदा स्मिता राईले मोमबत्ती उत्पादनको प्रस्ताव राखिन्। एनईडीएफआईले उनको प्रस्तावलाई गम्भीरतापूर्वक लियो। एनईडीएफआईको मुख्य कार्यालय पनि असमको राजधानी गुवाहाटीमा भएको हुँदा मोमबत्ती उत्पादन गर्ने प्रस्तावको लागि संयोग राम्रो मिल्यो। कारण गुवाहाटीमा मोमबत्ती धेरै बनिने हुँदा यसका मास्टर ट्रेनरहरूमा त्यहीं रहेको स्मिता बताउँछिन्। मोमबत्ती बनाउने कच्चा माल वैक्स पनि गुवाहाटीमै उपलब्ध थियो। यी सबैलाई हेरेर एनईडीएफआईले सो प्रस्ताव पारित गर्‍यो।

नाम्ची डिजाइनर क्यान्डल्स’की टीम लिडर स्मिता राई।

सानैदेखि क्यान्डल बनाउनु र खाना पकाउन मन पराउने स्मिताले महिलाहरूको एउटा समूह बनाइन्। गुवाहाटीबाट एनईडीएफआईले एउटा टीम पठाएर २० जना सदस्यलाई तालिम दिइयो। यही समूहको नाम रह्यो ‘नाम्ची डिजाइनर क्यानडल्स’। एनईडीएफआईको सहयोगमा तालिम प्राप्त गरेर आफ्नै बलबुत्तामा गठन भएको स्वनिर्भर समूह ‘नाम्ची डिजाइनर क्यानडल्स’को अघि प्रारम्भमा चुनौती थुप्रै थिए। तालिमपछि मोमबत्ती बनाउने अदम्य इच्छा भएकी स्मिताले नेतृत्व सम्हाल्दै यसैलाई निरन्तरता दिइन्। एक हप्ताको तालिममा मोम पगाल्ने, रंग हाल्ने तरिका सबै सिके। गहिरो रुची देखेर एनईडीएफआईले फेरि तीन चारवटा अतिरिक्त तालिमको व्यवस्था गरायो। यसरी तालिम पाउँदै जाँदा झन बढ़ी इच्छा र उर्जा सञ्चार भएको स्मिता बताउँछिन्। मोमबत्ती उत्पादन गरेर बजारमा निकालेपछि केही बिक्री भएर पैसा आउन थालेपछि यसले पनि जीविका चल्ने रहेछ भन्ने उनीहरूले बुझे।

सन् २०१२ शुरु गर्दाखेरिका महिला सदस्यहरू पारू भुटिया, ओङ्मु लेप्चा, सेलिना राई, सम्झना राई, दिलकुमारी गुरुङ, पुष्प शेर्पा, लक्ष्मी शेर्पा आजसम्म ‘नाम्ची डिजाइनर क्यान्डल्स’मा सक्रिय छन्। स्मिता भन्छिन्, ‘‘यो खुशीको कुरा हो।’’ अन्य सदस्यहरू कोही बिहे भएर गए, कोही निजी कारणले बसाईं सरे। अहिले समूहमा १५ जना महिला सदस्यहरू छन्। शुरुमा मोमबत्ती बजारमा बिक्री गर्नु चुनौतीपूर्ण थियो। मानिसहरूले प्रायः बत्ती जाँदा बाल्ने सेतो मोमबत्ती मात्र चिनेका थिए। ‘नाम्ची डिजाइनर क्यान्डल्स’का रंगीचंगी, सुगन्धित, विभिन्न आकारका कलात्मक मोमबत्तीबारे बुझाउन गाह्रो भयो- किनकि यी हातले बनाइएका, सुगन्धित र कलात्मक थिए। त्यही साइजको सेतो मोमबत्ती दस रुपियाँ पर्ने, डिजाइनर भने बीस रुपियाँ। बिस्तारै महिलाहरूले नयाँ डिजाइन र कलाकारिता थप्दै गए। अहिले 20 देखि 5 हजार रुपियाँसम्मका मोमबत्ती बनाइन्छ। पाँच हजार रुपियाँको साढे तीन फीटको मोमबत्ती विशेष कार्यक्रमका लागि बनाइन्छ, जुन धेरै दिन बलिरहन्छ।

तिहारमा कलात्मक मोमबत्तीहरूको बिक्री सबैभन्दा बढ़ी हुन्छ, जुन सिक्किम, दार्जीलिङ, सिलगढ़ीमा बिक्री गरिन्छ। अहिले १५ जना महिलाहरूको यो स्वनिर्भर समूह सशक्त बनेको छ। उपहारका लागि मनिसहरू र कम्पनीहरूले मोमबत्ती किन्ने गरेका छन्। पाँच सयदेखि हजारवटासम्मको अर्डर सम्हाल्ने क्षमता समूहसँग छ। सयवटा डिजाइनहरू छन्, जसमा ५० वटा नियमित उत्पादनमा छन्। अनलाइन बिक्रीमा उपयुक्त ठाउँ नपाए पनि सिक्किमका मेलामा राम्रो बिक्री हुन्छ। सिक्किम बाहिर दिल्ली, नोयडा, गुजरात, हरियाणा, मुम्बई, कोलकाता तथा विदेशमा भुटानको थिम्पु र नेपालको राजधानी काठमाड़ौंका हस्तशिल्प र ट्रेड फेयरहरूमा निरन्तर निमन्त्रणा पाउने गरेका छन्। अहमदाबादमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि यो मोमबत्ती उपहार प्रदान गरिएको छ। बिक्री मात्र होइन, महिलाहरूको सफल स्वनिर्भरता पनि देखिएको छ।

‘नाम्ची डिजाइनर क्यान्डल्स’ले मोमबत्ती बनाउने मात्र होइन, महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको छ। नाम्ची नजिकको आसाङथाङस्थित पर्यटन केन्द्रकै रुपमा रहेको साई मन्दिरमा स्टल छ, त्यहाँ पर्यटक र स्थानीयले खरिद गर्छन्। अहिले यो राम्रो आय स्रोत बनेको छ। महिलाहरू घर र खेतीपातीको काम सकेपछि सेन्टरमा गएर मोमबत्ती बनाउँछन्। यो समूहले तेह्र वर्षको यात्रामा सिक्किमभरि करिब एक लाखजनालाई तालिम दिइसकेको स्मिता बताउँछिन्। मोमबत्तीहरू सबै हातले बनाइन्छ, मशिनले होइन। सोय वैक्स र बि वैक्स (मौरीको चाका) प्रयोग गरिने भएकाले कुनै केमिकल प्रयोग हुँदैन। सबै मोमबत्ती पर्यावरणमैत्री छन्, र पर्यावरण संरक्षण, जल, वनस्पति र वन्यजन्तु जोगाउने कलात्मक सन्देश बोकेका हुन्छन्।

कोभिड-१९ को महामारीका कारण तीन वर्ष निक्कै कठिन परिस्थितिको सामना गर्नुपरेको हुँदा धेरै नोक्सानी भएको स्मिता बताउँछिन्। मुख्यमन्त्री पी. एस. तामाङले पाँच लाख रुपियाँ अनुदान दिएर सहयोग गरेको उनी बताउँछिन्। मोमबत्तीको लघु उद्योग शुरु गर्न करिब चारदेखि पाँच लाख लाग्ने स्मिताको भनाइ छ। दार्जीलिङ, कलेबुङजस्ता ठाउँ उपयुक्त हुने र मार्चदेखि मईको समय ठीक हुने उनी बताउँछिन्। उनको भनाइअनुसार, अति बढ़ी चिसो, गरम पनि राम्रो हुँदैन। ‘‘सबै महिलामा कुनै न कुनै सीप हुन्छ, त्यसलाई उजागर गर्नुपर्छ। हातले बनाएको वस्तुको भारतमा मात्र होइन, युरोपमा पनि बढ़ी माग छ,’’ उनी भन्छिन्।

नाम्चीका यी महिलाहरूले मोमबत्तीबाट आत्मनिर्भरताको उज्यालो बालिरहेका छन्। उनीहरूको मेहनत, सीप र लगनशीलताले देखाउँछ- यदि अवसर, मार्गदर्शन र साथ मिले भने महिलाहरू आर्थिक, सामाजिक र रचनात्मक रूपमा आत्मनिर्भर बन्न सक्छन्। ‘नाम्ची डिजाइनर क्यान्डल्स’ न केवल उज्यालोको प्रतीक बनेको छ, यो महिला उद्यमशीलताको उज्ज्वल प्रेरणा पनि हो- जसले सिक्किमको सुगन्ध सिक्किम बाहिर फैलाइरहेको छ।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ