खरसाङ, (निसं)ः खरसाङको धोबी खोला नजिक रेलको लिक किनारमा रहेको मैलादानीमा धेरै दिनदेखि मैलाकुचैला थुप्रिएको गुनासो छ। यस मैलादानीमा लगभग दुई-तीन महिनादेखि मैलाकुचैला थुप्रिएर बसेकोले उक्त मैलाकुचैला सड़िएर दुर्गन्ध आउने गरेको कतिपलले गुनासो गरेका छन्। यस स्थानमा रहेको मैलादानी भरिएर मैलाकुचैला मैलादानीको वरिपरि क्षेत्रसम्म थुप्रिएर बसेकोले यहाँबाट हिँड़ने मानिसका साथै वरिपरिका मानिसहरू समस्यामा परेका छन्। रेलको लिक किनारमा यसरी मैलाकुचैलाको डङ्गुर रहेकोले पहाड़ घुम्न आउने पर्यटकहरूलाई पनि यसले नकारात्मक सन्देश दिइरहेको कतिपयले बताएका छन्।
ज्ञात रहोस, खरसलाङ शहरको विभिन्न स्थानमा रहेको मैलादानीहरू नगरपालिकाले बन्द गरिसकेको छ। यहाँको मैलादानी पनि नगरपालिकाले बन्द गरिसकेको हो, कुनै समय यहाँको मैलादानी बारिएको अवस्थामा देखिएको थियो भने कुनै समय नगरपालिकाले यस मैलादानीमा मैलाकुचैला नफाल्न भनी नोटिस पनि टाँसेको थियो। नोटिसमा यस स्थानमा मैलाकुचैेला फालिएको खण्डमा जरिमाना लगाउने समेत उल्लेख गरिएको थियो। यसरी नगरपालिकाको प्रयासपछि पनि यस स्थानमा रहेको मैलादानीमा मानिसहरूले मैलाकुचैला फाल्न बन्द नगरेको पाइएको छ।
कतिपय मानिसहरूले यस स्थानमा रहेको मैलादानीमा स्थानीयहरूले मात्र मैलाकुचैला नफालेको तथापि बाहिरबाट पनि मनिसहरूले बोरामा मैलाकुचैला ल्याएर यहाँ थुपार्ने गरेको बताएका छन्। यस स्थानमा कसले मैलाकुचैेला थुपारेका हुन् र किन थुपारेका हुन् त्यो चिन्तनको र जाँचको विषय रहे तापनि यहाँ थुपारिएको मैलाकुचैलाको रासले यहाँबाट हिँड़ने अनि छेउछाउका मानिसहरूलाई समस्या अवश्यै भएको छ। रेलको लिक नजिक यसरी मैलाकुचैलाको रास रहने गरेकोले दार्जीलिङ पहाड़ घुम्नको निम्ति रेलमा अथवा गाड़ीमा चड़ेर आउने पर्यटकहरूको नजरमा अवश्यै नकारात्मक असर परेको छ।












