खरसाङ, (निसं)ः बलिवुड अभिनेता तथा भाजपाका नेता मिथुन चक्कवर्ती खरसाङ आए, गिद्धे पहाड़स्थित तिनको बहिनीको होटलमा एक दिन बसेर आइतवार फर्किए। तथापि तिनी पार्टीको कुनै कार्यक्रममा सामेल नभएको जानकारी प्राप्त भएको छ। गिद्धे पहाड़स्थित चक्रवर्ती बसेको होटलमा खरसाङ्का कतिपय भाजपा नेता, कार्यकर्ता अनि तिनका फ्यानहरूले तिनलाई शनिवार स्वागत जनाएका थिए भने आइतवार बिदा पनि गरे।
खरसाङका एक भाजपा सदस्य विरेन्द्र शर्माले मिथुन चक्रवर्ती शनिवार खरसाङ आएका र तिनी सोझै आफ्नो गिद्धे पहाड़स्थित आफ्नो बहिनीको होटलमा गएर बसेको अनि शनिवार दिउँसो फर्किएको बताए। शनिवार मिथुनलाई खरसाङ्का कतिपय भाजपा नेता, कार्यकर्ता, सदस्य अनि तिनका फ्यानहरूले स्वागत जनाएको अनि आइतवार बिदा गरेको शर्माले बताउदै, स्वागत अनि बिदा गर्नेहरूमा आफू पनि एक रहेको तिनले जनाए। होटल प्रबन्धक पक्षले पनि मिथुन चक्रवर्ती शनिवार राति होटलमा आइपुगेका अनि शनिवार दिउँसो लगभग 12ः30 मा त्यहाँबाट फर्किएका बताएको छ।
स्मरण गराइन्छ, बलिवुड अभिनेता तथा भाजपाका नेता मिथुन चक्रवर्तीले 4 जनवरी आइतवार खरसाङ्को मोटर स्ट्याण्डमा हुने भाजपाको जनसभालाई सम्बोधन गर्ने भनी विभिन्न सामाजिक सञ्जालहरूमा खबर फैलिएको थियो। खरसाङ्का भाजपा नेताहरूले पनि यस्तै बताएका थिए। तर आइतवार खरसाङ्मा हुने भनिएको भाजपाको जनसभा भएन तर मिथुन चक्रवर्ती भने खरसाङ आएर एक दिन बसेर फर्किसकेका छन्। खरसाङ्का भाजपा नेताहरूले आइतवार श्रमिकहरूको मामिलालाई लिएर रोजगार एवं श्रम मन्त्री मनसुख मांडविया सिलगढ़ी आएका र जनवरी महिनादेखि लागु गरिएको नयाँ श्रम संहिताको विषयमा दार्जीलिङ्का नेतृत्वसँग बैठक गर्ने भएकाले जनसभा रद्द गरिएको हो भनी बताएका छन्।












