खरसाङ, (निसं)ः भाजपाले शोषित चिया श्रमिकमाथि राजनीति खेल खेल्न बन्द गर्नुपर्छ भनी बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। खरसाङ्को सामी लाखाङ गुम्बाका धर्म गुरु पेम्बा रिम्पोर्छेले चिया बगानका श्रमिकहरूको रोज सम्बन्धी भाजपा नेताको हालैको भनाइलाई उल्लेख गर्दै भाजपालाई शोषित चिया श्रमिकमाथि राजनीति खेल खेल्न बन्द गर्ने आग्रह गरेका छन्।
उनले भने, जब पनि चुनाव आउँछ, भाजपा नेताहरूले कथित रूपमा चिया बगानका श्रमिकहरूलाई लिएर राजनीति खेल्न मोहराको रूपमा प्रयोग गर्छन्। रिम्पोर्छेले हालैमा एक भाजपा नेताले यदि भाजपाले यो चुनाव जित्यो भने कामदारहरूको दैनिक हाजिरा 8 सय रुपियाँ पुऱ्याइनेछ भनी दिएको बयानको उल्लेख गर्दै भने, उनीहरूले थाहा पाउनुपर्छ कि पाँच वर्षअघि भाजपाले दैनिक हाजिरा 3 सय 50 रुपियाँ पुऱ्याउने वाचा गरेको थियो, जुन अझै पनि अलपत्र छ। 3 सय 50 रुपियाँ तिर्न नसक्नेहरूले कसरी 8 सय रुपियाँ तिर्न सक्छन्? भनी प्रश्नहरू उठाउँदै, उनले चिया श्रमिकहरूलाई झूटा वाचा गर्ने यस्ता तथाकथित नेताहरूबाट सावधान रहन आग्रह गरे।
उनले आरोप लगाउदै भने, विगत 20 वर्षमा भएका हरेक चुनावमा भाजपाले छुट्टै गोर्खाल्याण्ड राज्य बनाउने, स्थायी राजनीतिक समाधान सुनिश्चित गर्ने, एघार जातलाई आदिवासी दर्जा दिने र चिया मजदुरको दैनिक ज्याला 3 सय 50 रुपियाँ पुऱ्याउने वाचा गरेको थियो। तर, विगत 20 वर्षमा एउटा पनि वाचा पूरा भएको छैन। जब पनि चुनाव आउँछ, जनतालाई झूटो आश्वासन दिएर भाजपाले चुनाउ जित्ने गरेको छ। हामीले यसबाट बच्नुपर्छ। उनले अध भने, साना राज्यहरूको निर्माणको पक्षमा भए पनि भाजपाले आजसम्म गोर्खाहरूलाई झूटो वाचाहरूमा फसाएको छ। भाजपाले झूटको राजनीतिमा संलग्न हुनु बाहेक केही गर्दैन। यदि भाजपाले गत चुनावमा पहाड़का जनतालाई गरेको एउटा पनि वाचा पूरा गरेको छ भने, कृपया त्यो देखाइयोस। उनले चिया श्रमिकहरुसहित सम्पूर्ण पहाड़का जनतालाई यस चुनावमा भाजपाको झूटको राजनीतिबाट बच्न र चुनावमा नराम्रोसँग पराजित गरेर भाजपालाई पाठ सिकाउन पनि अपील गरेका छन्।












