पङ्खाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कसैको आङ्गमा बुइ चढ़ेर उनीहरूको वकालती गर्दै नहिँड़ेको दावी भागोप्रमो खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामुले गरेका छन्। तिनले अब चुनाउ नजिकै आउन लागेको बेला विभिन्न प्रलोभन र आशाहरू देखाउँदै पहाडमा राजनीतिक पार्टीका कार्यकर्ताहरू आउने गरेको अवगत गराउँदै तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो बलबुतामा क्षेत्रियतालाई बचाउँदै चुनाउ लडिरहेको जनाएका छन्। प्रवक्ता रामुदामुले आजसम्म भागोप्रमोले जनताको सेवा गरिरहेको दावी गर्दै तर पहाड़का अन्य पार्टीले केवल जनताबाट भोट लिएर आश्वासन र आशा बाहेक अरू केही नदिएको बताएका छन्। तिनले आइजीएफका एक कार्यकर्ता गोपाल परियारले भागोप्रमो अध्यक्ष अनित थापामाथि गरेको टीकाटिप्पणीको विरोध जनाउँदै आइजीएफ राजनीतिक दल हो कि गैर सरकारी संस्था हो भनी प्रश्न गरेका छन्। पार्टी स्थापना भएको एक वर्ष भइसक्दा केन्द्रिय समिति पूर्ण रूपले गठन गर्न नसक्ने पार्टीले आफ्नो बलबुतामा चुनाउ जितेर सत्ता सम्हालि रहेको पार्टी अनि यसका अध्यक्षमाथि टिकाटिप्पणी गर्नु औ आरोप लगाउनु नहुने जनाएका छन्। आइजीएफको कुनै मुद्धा नरहेको औ आजसम्म अनित थापालाई माध्यम बनाए राजनीतिक रङ्गलाई चम्काइरहेको तिनले बताएका छन्। कसैमाथि बोल्न अघि आफ्नो नेतृत्वले बोलेका कुराहरूलाई ध्यान दिने सुझाव दिँदै रामुदामुले यस अनित थापा अनि भागोप्रमोमाथि आगामी दिनमा कुनै बयानवाजी नगर्ने सल्लाह पनि दिएका छन्।












