मिनरल स्प्रीङ, 4 जनवरी(निसं): मौरी पालनलाई पनि व्यवसायिक रूपमा अघि बढाएर लैजान सकिए यसबाट पनि आय आर्जनको प्रशस्त सम्भावना रहेको मिनरल स्प्रीङ अन्तर्गत 11 नम्बर गाउँ निवासी विनोद छेत्री बताउँछन्। विगत 1980 सालमा दार्जीलिङ वीकिपिङ-बाट मौरी पालनको प्रशिक्षण लिएपछि आफूले निरन्तर रूपमा अहिलेसम्म मौरी पालन गर्दै आएको उनले जनाएका छन्।
पिता स्व रघुनाथ छेत्रीले पनि मौरी पालन गर्दै आएको हुनाले उनीबाट नै प्रेरित भएर आफू पनि मौरी पालनमा सङे लग्न भएको उनले बताए। विगत 1980 सालमा सिगरिम्ताम बस्ती निवासी स्व सीबी राईबाट दार्जिलिङ वीकिपिङ-को माध्यमबाट बदमताममा आयोजित प्रशिक्षण शिविरबाट मौरी पालन सम्बन्धी धेरै ज्ञान र जानकारी लिएपछि त्यसकै आधारमा आफूले मौरी पालनलाई अघि बढाएको कुरा उनी भन्छन्।एक समयमा उनले एक सीजनमा एक सय बोतलभन्दा अधिक मह काढेको अनुभव पनि साझा गर्छन्।
अहिले आफूसित थोरै मौरीको ढुडहरु भएपनि ती मौरीबाट पनि लाभ प्राप्त भइरहेको उनको भनाइ छ। एउटा ढुडबाट एक सीजनमा 8 देखि9 बोतलसम्म मह सङ्कलन गर्न सकिने कुरा बताउँदै मौरीको हेरचाहमा पनि विशेष ध्यान पुर्याउनु जरुरी रहेको बताए।मालीसाप्रा,बच्छिउ,अरिगल, कमिला आदिले मौरी तथा मौरीको ढुडमा भएको चाका अथवा महलाई हानि पुर्याउने भएकोले यसप्रति सतर्क रहनु पर्ने उनले बताए।मह कहिले कहिले काढिन्छ भन्ने प्रश्नबारे वर्षमा दुईपटक मार्च देखि मई महीनाअनि अक्टोबर, नोभेम्बर महिनामा काढ्न सकिने भएको बताए भने ठण्डा महिनामा भने मौरीलाई
खाध्य उपलब्ध गराउनु पर्ने जनाए।
आफूले मौरी पालनको निम्ति गाउँ घरमा प्रचलित ढुङ्गरे ढुड अनि सरकारी ढुड दुवै प्रकारको ढुड प्रयोग गर्दै आएको तथापि सरकारी ढुड व्यवस्थित प्रकारले निर्माण गरिएको हुनाले यसमा मौरी पाल्दा मौरीलाई पनि सुविधा साथै मह काढ्न पनि सजिलो हुने बताए। अहिले आफ्नो गाउँ घरमा धेरैले मौरी पालन गरिरहेको पनि उनले बताए भने अधिया अथवा साझेमा पनि धेरैलाई मौरी पाल्न दिईएको पनि थप बताएका छन्।यता मिनरल स्प्रीङको आँपबोटे, यांखु, एघार नम्बर,सुमन धुरा, भोटे बस्ती आदि क्षेत्रमा मौरी पालन गरिएको देखिएको छ ।
मौरी पालनको निम्ति घमाइलो ठाउँ उपयुक्त हुने कुरा पनि मौरी पालक विनोद छेत्रीले बताए भने साफ सफाईमा पनि विशेष ध्यान पुर्याउनु पर्ने जनाए। मौरीले फल फूलको रस सङ्ग्रह गरेर नै मह तयार गर्ने भएको हुनाले के कस्तो बोट बिरुवाहरु लगाउन उचित छ भन्ने विषयमा जान्न चाहँदा आफ्नो गाउँ वन्य क्षेत्र नजिकै रहेको हुनाले उक्त वन्य क्षेत्रमा विभिन्न प्रकारका फूल फुल्ने रुख तथा बोट बिरुवाहरु पाइने भएकोले मौरीले ती रूखहरूबाट रस संग्रह गर्ने भएको बताउँदै आफ्नो बारीमा पनि तोरी लगायत अन्य फूल फुल्ने फसलहरु लगाउने गरेको उनले बताए।
जतिबेला पायो त्यतिबेला मह काढनु उचित नहुने बताउँदै मौरी स्वयंले प्रोसेसिङ गरेको बेला मह काढेमा महको गुणवत्ता पनि राम्रो अनि ओजनदार रहने कुरा उनले जनाएका छन्। हालै आई भी बहुद्देश्यीय सहकारी समितिसित मिनरल स्प्रीङ सहकारी कृषि उन्नयन समित लिमिटेडको सम्झौता भएपछि मह बिक्री गर्नमा थप सहयोग भएको पनि उनले जानकारी गराए। मौरी पाल्न इच्छुक व्यक्तिहरूलाई आफूले सर सल्लाह दिने गरेको बताउँदै जति सक्दो प्रशिक्षण लिएको राम्रो हो भनी बताए।
आफूले ढुड निर्माणको निम्ति तकनीकी सहायता पनि दिने गरेको हुनाले निर्मित ढुडहरु पनि आफूसित रहेको औ कसैलाई चाहिएको खण्डमा सम्पर्क गर्न सकिने पनि उनले बताएका छन्।












