खरसाङ, (निसं): सिलगढी-खरसाङ-दार्जीलिङ- माझको जीवनरेखा मानिने रोहिणी रोड खोलिएपछि आम मानिसहरूमा खुशीको लहर छाएको छ। यसको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि खुशी व्यक्त गरेको छ। यसै सन्दर्भलाई लिएर शुक्रवार भागोप्रमो रोहिणी खण्ड समितिद्वारा एक सभाको आयोजना गरेर गत चार अक्टोबरमा गएको पह्रोले रोहिणीको रोड अवरोध भएपछि समस्त पहाड़ समतललाई ठूलो कठिनाइ पर्न गएको थियो भने यस समस्यालाई लिएर जीटीए प्रमुख कार्यपाल अनित थापाले पदक्षेप लिएको कारण पहिलो जनवरीदेखि नयाँ वर्षको उपहार स्वरूप रोहिणीको सडक खोलिन गएको जनाउँदै रोहिणी खण्ड समितिको पक्षबाट प्रमुख कार्यपालप्रति आभार प्रकट गरेका छन्। सडक अवरोध बनेपछि यहाँको सम्पूर्ण क्षेत्रलाई नराम्रो गरेर नोक्सान पुर्य़ाइरहेको विषयलाई जीटीए प्रमुखले खुबै गम्भीरताका साथ लिएर पैह्रो निर्माण गरेर सडकलाई पुनः आरम्भ गरिदिएको अवगत गराउँदै यस कार्यको निम्ति उनलाई विशेष आभार व्यक्त गरेका हुन् भनी पार्टीको पक्षबाट दिपेन तामाङले जानकारी दिएका छन्।












