गोक, 3 जनवरी(निसं): गोक स्पोर्टिङ्ग क्लब-द्वारा खेलाईएको अन्तर भिलेज फुटबल टुर्नामेन्टको अन्तिम खेल रङ्गारङ्गा कार्यक्रमको साथमा सम्पन्न भयो । यसदिन प्रमुख अतिथि पुलबजार थाना प्रभारी विवेक राई, सभापति क्लबका अध्यक्ष दीपक राई अनि विशिष्ट अतिथिहरु गोक-1 ग्राम पञ्चायत प्रधान एलिना रसाईली, समिती सदस्य नन्दिता राई,सीबी प्रधान, भीम सुब्बा, सनित लामा, शेरसिङ्ग राई, दिपेन खरेल आदि उपस्थित थिए। शुक्र कुमार सुब्बाद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि विवेक राईले फुटबल खेलको सराहना गर्दै फुटबल खेलले युवा पिडिलाई सही मार्गदर्शन गर्ने जनाए। आजको समयमा फुटबल खेल युवाहरुको निम्ति केवल शारीरिक अभ्यास मात्र नभएर एउटा ठूलो अवसरको माध्यम रहेको पनि उनले बताए। फुटबल खेलको माध्यमबाट पुलिस, सैनिक र विभिन्न क्षेत्रमा नोकरी पाउन सकेको पनि उनले जनाए भने युवाहरु कुलत देखि टाढा रहने एक सरल मार्ग रहेको पनि उनले बताए। क्लबका अध्यक्ष दीपक राईले यसदिन उपस्थित अतिथीहरु प्रति आभार प्रकट गर्दै क्लबले युवाहरुको निम्ति दश वर्ष अघि देखि फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको अवगत गराए। कर्मी ब्वाइज कोल्बुङ बनाम सिंगला एफ सी माझ भएको फाईनल खेलमा सिङला एफ सी दुई गोलले विजयी भए। सो विजयी दललाई नगद पुरस्कार 40 हजार उप विजयी दललाई नगद पुरस्कार 30 हजार लगायत आकर्षक ट्रफीहरु प्रदान गरियो।












