खरसाङ, (निसं)ः खरसाङ शहरमा विभिन्न सेवाका केबलहरू फेरि अव्यस्थित बन्दै गइरहेका छन्। शहरको विभिन्न स्थानमा फेरि केबलको गुजुल्टा बढ़दै गएको, विभिन्न सेवाका केबलहरू झोलिएको, लत्रिएकेो, चुड़िएको अवस्थामा रहेको पाइएको छ। यस्ता केबलहरूको कारण शहरको सुन्दरतामा कमी आएको छ भने जनसाधरणले विभिन्न समस्याको सामना गर्न परिरहेको गुनासहरू छन्।
शहरको कतिपय स्थानमा यस्ता केबलहरू चुड़िएर लत्रिएको अवस्थमा रहने गरेकोले मानिसहरू बाटोमा हिँड़दा समस्या हुने गरेको, दोकानहरूमा लत्रिएर बस्ने गरेको गुनासोहरू प्राप्त भएको छ भने कतिपय टेलिफोनको खाँबो, बिजुलीको खाँबोमा टाँगिएका यस्ता केबलहरूको कारण समस्याको सामना गर्न परिरहेको मानिसहरूले बताएका छन्।
विगतमा पनि खरसाङ शहरमा टाँगिएका यस्ता केबलहरू अव्यस्थित रहेको थियो। विभिन्न स्थानमा केबलहरूको गुजुल्टाको कारण शहर फोहोर देखिने गरेको थियो। लत्रिएको, झुण्डिएको, झोलिएको अवस्थामा रहेका केबलहरूको कारण मानिसिहरूले विभिन्न समस्याको सामना गर्न परिरहेका थिए। जनसाधरणबाट यस्ता धेरै गुनासोहरू प्राप्त भए पछि खरसाङ महकुमा प्रशासन अनि खरसाङ नगरपालिकाले शहरको अव्यस्थित केबलहरू विगत वर्षको 4 जुनमा काट्ने, हटाउने कार्य गरेको थियो। यसरी शहरको अव्यस्थित केबलहरू काट्ने अनि हटाउने कार्य गरिएको थियो। त्यस समय खरसाङ शहरमा धेरै वर्षदेखि गुजुल्टिएर बसेका, झुण्डिएर बसेका, लत्रिएको अवस्थामा रहेका, बिजुलीक खाँबोमा बेह्रिएका धेरै केबल काटिएको थियो। विभिन्न टेलिफोन सेवा अनि टेलिभिजन सेवा उपलब्ध गराउने एजेन्सीहरूले शहरमा पुनः व्यवस्थित पाराले केबलहरू जड़ान गरेका थिए। यसरी व्यवस्थित तरिकाले केबलहरू जड़ान गरिएपछि शहर एक समय केही दुन्दर देखिएको थियो। समय बित्दै जाँदा अहिले पुनः शहरको कतिपय स्थानमा यस्ता केबलहरू अवस्थित बन्दै गइरहेका छन्।












