खरसाङ, (निसं)ः रोहिणी रोड (सुवास घिसिङ मार्ग) 1 जनवरीदेखि खोलिएकोमा रोहिणीवासीले जीटीएका मुख्य कार्यपाल अनित थापा, ठेकादार अनि विभागीय अधिकारीहरूप्रति कृतज्ञता प्रकट गरेका छन्। रोहिणीवासीको पक्षबाट रोहिणीमा एउटा क्याफे सञ्चालन गर्दै आएका सामाजिक कार्यकर्ता गजेन प्रधानले भनेका छन्, रोहिणी रोडमा माथिल्लो सिरुबारी नजिक पैह्रो गएपछि हामी सबै रोहिणीवासी दुःखित बनेका थियौँ। रोडमा पैह्रो गएपछि यो रोड बन्द भएको थियो, यो रोड कहिले खोलिने हो भन्ने हामी सबै रोहिणीवासीमा चिन्ता थियो। यो रोड बन्द भएपछि रोहिणीवासी मात्र होइन सम्पूर्ण पहाड़ र तराईवासीलाई समस्या भएको थियो। विभागीय पक्ष अनि ठेकादारले निरन्तर कार्य गरेर रोडको मरम्मती गरेपछि 1 जनवरीदेखि यो रोड खोलिएको छ। यसमा हामी जीटीएका मुख्य कार्यपाल अनित थापा, ठेकादार अनि विभागीय अधिकारीहरूलाई सम्पूर्ण रोहिणीवासीको पक्षबाट धन्यवाद दिन्छौँ। यसरी रोहिणी रोड खोलिएकोमा हामी सबै रोहिणीवासी खुशी छौँ।
तिनले अझ भने, रोहिणी रोडको कतिपय स्थानमा अहिले पनि रोड भत्किएको, बिग्रिएको अवस्थामा छ। यस्ता भत्किएको र बिग्रिएको कारण वर्षाकालमा ठूलो क्षति हुन सक्छ। यसैले हामी सम्बन्धित निकाय, विभागीय पक्षलाई यस्ता स्थानहरूको निरीक्षण गरेर भत्किएको स्थानमा रोडको मरम्मती समयमा गर्ने हामी अनुरोध गर्छौँ। यसरी समयमा नै मरम्मती गरिएको खण्डमा भविष्यमा हुन सक्ने ठूलो क्षतिबाट यो रोडलाई बचाउन सकिन्छ। यसै गरी रोहिणी रोड खोलिएकोमा चालक, होटल व्यवसायी, यात्रीहरूले पनि खुशी प्रकट गर्दै धन्यवाद दिएका छन्।
सिलगढ़ी अनि दार्जीलिङ माझ गाड़ी चलाउने एक चालकले रोहिणी रोड खोलिएकोमा खुशी रहेको बताउदै भने, यो रोड खोलिएकोमा हामी सबै खुशी छौँ। यो रोड बन्द हुँदा हामीले राष्ट्रिय राजमार्ग 110 भएर गाड़ी चलाउन परिरहेको थियो। उक्त रोडबाट गाड़ी चलाउदा समय पनि अधिक लाग्ने र इन्धन पनि अधिक लाग्ने भएकोले हामी मर्कामा थियौँ। यात्रीहरू पनि लामो बाटो गाड़ीमा हिँड़न पर्दा दिक्क मान्ने गर्थे। यो रोड खोलिएपछि चालक अनि यात्री सबैले राहत अनुभव गरेका छौँ। यो रोड खोलिएपछि सबैको निम्ति राम्रो भएको छ।
स्मरण गराइन्छ, 4 अक्टोर रातिको वर्षामा माथिल्लो सिरुबारी नजिक गौरीशंकर चिया बगानमा रोहिणी रोड पैह्रोले लगेको थियो। 15-16 अक्टोबरदेखि रोडको मरम्मती कार्य थालिएपछि यो रोडको मरम्मती कार्य सकिनलाई झण्डै तीन महिना समय लागेको थियो। यस अवधि रोडको मरम्मती ढिलो गरियो, मरम्मती कार्यमा कम श्रमिकहरू खटाइयो जस्ता गुनासो पनि पटक-पटक आएको थियो। अन्ततः रोडको मरम्मती कार्य सकिएपछि 1 जनवरीदेखि यो रोड पूर्ण रुपले खोलिएको छ। रोड बन्द रहेको समयमा सिलगढ़ी गामी गाड़ीहरू पङ्खाबारी रोड भएर चल्न पर्ने अनि सिलगढ़ी तर्फबाट उकालो आउने गाड़ीहरू राष्ट्रिय राजमार्ग 110 बाट आउन पर्ने नियम रहेको थियो।












