नारी दर्पण
सञ्जय प्रधान⇒
सामाजिक चेतना, साहित्यिक सोच र उद्यमशील कर्मलाई एकैसाथ अघि बढ़ाइरहेकी महिला हुन् सन्ध्या आचार्य। डिजिटल युगमा पढ़्ने संस्कार हराउँदै गएको बेला उनले पुस्तकलाई गाउँको जीवनसँग जोड़्ने प्रयास गरेकी छिन्। स्वर्गीय श्रीमान तितस लेप्चाको सपना र स्मृतिलाई कर्ममा रूपान्तरण गर्दै उनले पुस्तकालय, होमस्टे र साहित्यमार्फत समाज, संस्कृति र महिला सशक्तिकरणमा निरन्तर योगदान दिइरहेकी छिन्।
पढ़्ने संस्कारलाई जीवित राख्न सन्ध्या आचार्यले खरसाङ बजारदेखि करिब डेढ़ घण्टा टाड़ो डायरी गाउँ सिटोङ-१ मा सन् २०२१ को मार्चदेखि आफ्नो स्वर्गीय श्रीमान तितस लेप्चाको स्मृतिमा ‘तितस लेप्चा स्मृति पुस्तकालय’ स्थापित गरेकी छिन्। स्वस्थ, शिक्षित अनि उद्यमी समाज निर्माणको लागि विचारशील युवा थिए तितस लेप्चा। सन् २०२० मा उनको देहवासनले यस पहाड़ी भेकले समाज विकासका असल कार्यकर्ता गुमाउनु पर्यो। कुनै ठाउँको समाज कति सभ्य र शिक्षित छन् भन्ने कुरा नाप्ने एउटा उपकरण हो पुस्तकालय। सिटोङ क्षेत्रमा एउटा राम्रो पुस्तकालय निर्माण गर्ने उनको सपना थियो। आफ्नो श्रीमानको यस सपनालाई सन्ध्या आचार्यले पूरा गरिन्। विशेष गरी बालबालिकाहरूमा पढ़्ने संस्कार बसाल्ने पहल यो पुस्तकालयको उद्देश्य रहेको छ।
‘‘एउटी नारी जबसम्म आर्थिक रुपले स्वतन्त्र हुँदैन तबसम्म आत्मनिर्भर हुनसक्दैन’’
बालबालिकाहरूलाई केन्द्रित गरेर पुस्तकालय शनिबार र आइतबार अपरान्ह तीन बजेदखि खोलिन्छ। यहाँ पढ़्नका लागि ठूलाहरू पनि आउँछन्, जसमा प्राय: पुस्तकालयकै कमिटीका सदस्यहरू हुन्छन्। यस पुस्तकालयमा विशेष गरी विद्यार्थी बालबालिकाहरूका लागि हिउँदमा पुस्तकालयमा पढ़्नका निम्ति विशेष व्यवस्था गरिन्छ। जसमा विद्यार्थीहरू नेपाली सिक्न चाहने भएकाले नेपाली पढ़ाइने गरेको सन्ध्या आचार्य बताउँछिन्। बाहिरबाट साहित्यकारहरू पुस्तकालयमा आउँछन् भने समय समयमा साहित्यिक जमघट हुनेगर्छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा प्रोत्साहित गराउन पुस्तकालयले सन् २०२१ देखि ‘तितस लेप्चा शैक्षिक पुरस्कार’ वर्षेनी प्रदान गर्दै आइरहेको छ। यो पुरस्कार माध्यमिक परीक्षामा सबैभन्दा बढ़ी अंक ल्याउने सिटोङ-१, सिटोङ-२, सिटोङ-३ क्षेत्रभरिका विद्यार्थीलाई नगद राशि पुरस्कार प्रदान गरिन्छ।

सन्ध्या आचार्य एक उद्यमी महिला हुन्। करिब १५ वर्षदेखि उनी पर्यटन उद्योगसित सम्बन्धित ‘हस्पिटालिटी’ अर्थात् आतिथ्य सत्कार उद्योग संचालन गर्दै आइरहेकी छिन्। गएको १3 वर्षदेखि होमस्टेको व्यवसायमा छिन्। उनका श्रीमान हुँदा शुरु गरेको ‘छलमक्योङ होमस्टे’को नाम अहिले ‘तितस छलमक्योङ होमस्टे’ राखिएको छ। १५ वर्षको अनुभवबाट सन्ध्याले यसै वर्ष सेप्टेम्बरदेखि फार्मस्टे शुरु गरेकी छिन्। सिटोङको मनोरम प्राकृतिक सौन्दर्यबीच शान्त वातावरणमा पर्यटकका लागि आकर्षक कटेजहरू बनाइएका छन्। यहाँ पर्यटकहरूका निम्ति जैविक सागसब्जी उमारिन्छ, कुखुरा पालन, माछा पालन गरिएको छ। यहाँको फार्मस्टेमा पर्यटकहरूले आफै पकाएर खानसक्ने व्यवस्था पनि गरिएको छ। खाना ग्यासमा पकाइँदैन, दाउराका चुल्हामा पकाइएका स्वादिलो स्थानीय खानाहरू पस्किन्छन्। सन्ध्याका अनुसार, फार्मस्टेमा पर्यटकहरूको चासो निक्कै बढ़्न थालेको छ।

सन्ध्या महिला सशक्तिकरणलाई प्रमुखता दिन्छिन्। महिलाहरूलाई आत्मनिर्भर बन्ने बाटो देखाउँछिन्। उनले होमस्टेमा करिब ११ जनाको महिला समूह बनाएकी छिन्। महिला सशक्तिकरणलाई प्रमुखता दिएको बारेमा उनी भन्छिन्, ‘‘एउटी नारी जबसम्म आर्थिक रुपले स्वतन्त्र हुँदैन तबसम्म आत्मनिर्भर हुनसक्दैन। केटीहरूलाई बाहिर गएर पैसा कमाउन धेरै समस्या हुन्छ। त्यसैले केटीहरूलाई मैले प्राथमिकता दिएको हो।’’ महिलाहरू आर्थिक रुपले स्वतन्त्र हुनुपर्छ भन्ने उनको धारणा छ। होमस्टेमा आउने पाहुनाहरूका लागि महिलाहरूले घरकै स्थानीय स्वादिलो खाना पकाउँछन्। खाना पकाएर पस्किनु मात्र होइन स्थानीय खानाको महत्व र गुणबारे पनि पर्यटकहरूलाई जानकारी दिइन्छ।
सिटोङ कृषि खेतीदेखि लिएर साहित्यिक-सांस्कृतिक क्षेत्रमा उर्बर भूमि हो। यस भेकमा नेपाली लोक संगीतबारे खासै भनेजस्तो अध्ययन भएको छैन। सन्ध्या आचार्यले आफ्नो होमस्टेमा पर्यटकहरू बढ़ी भएको बेलामा मनोरञ्जन गराउँदै गाउँकै कलाकारहरूलाई लिएर नेपाली लोक नृत्यहरू प्रस्तुत गराउँछिन्। नेपाली संस्कृति, चाड़पर्वहरूबारे पर्यटकहरूलाई जानकारी दिइन्छ। गाउँका घरहरूमा दशैं-तिहार कसरी मनाइन्छ, सो देखाउने गरिन्छ। पर्यटकहरू दशैंमा टिका लगाउँछन्, तिहारमा सयपत्री फूलका मालाहरू लगाएर रमाउँछन्। यसरी सन्ध्याले होमस्टेको माध्यमबाट नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्दै आएकी छिन्। उनी भन्छिन्, ‘‘गाउँका मानिसहरूले पर्यटकहरूलाई चाड़पर्व, संस्कृतिबारे बताउँछन्। डायरी गाउँका सबैले मिलेर पर्यावरण संरक्षणलाई प्रमुखता दिँदै प्लास्टिकमुक्त अभियान चलाएको धेरै भयो। होमस्टे संचालकहरू मात्र होइन समग्र गाउँवासीले नै पर्यटन विकासका लागि सहयोग गर्छन्।’’ क्रिसमसमा पनि नेपाली क्यारोल गीत, नेपाली नृत्यहरू पर्यटकहरूलाई देखाइन्छ। दिसम्बरमा हुने लेप्चा पर्व पनि देखाइन्छ।
‘छलमक्योङ होमस्टे’ सिटोङ-१ मा पहिलो होमस्टे रहेको सन्ध्या बताउँछिन्। उनका अनुसार, यो होमस्टे शुरु गर्दा सिटोङ-१ मा बाटो, बत्तीको खासै सुविधा थिएन, जोगीघाटको पूल पनि बनिएको थिएन। शुरुवाती दिनलाई सम्झिँदै उनी भन्छिन्, ‘‘त्यति बेला हन्ड्रेड डेजले खनेको बाटो थियो। हामीले रियाङ खोलाको पानी माथिबाट तारेर मङ्पूमा गाड़ी छोड़ेर अनि पिकअप भ्यानबाट ल्याउनुपर्थ्यो। पिकअप भ्यानमा ल्याउँदा पर्यटकहरू रिसाएको…त्यस्तो पनि छ कथाहरू।’’ यस्तै कठिन पूर्वाधारको व्यवस्थाबाट शुरु भएको यो होमस्टे पर्यटक भित्र्याउने मात्र होइन पहाड़को पर्यटन, लोक संस्कृति प्रवर्द्धन साथै महिला सशक्तिकरणलाई दह्रो बनाउने सशक्त माध्यम बनेको छ।
सन्ध्या आचार्य वर्षभरि नै व्यस्त रहने उद्यमी महिला हुन्। व्यस्तताको बीचमा पनि उनी नेपाली साहित्यलाई शरीरले छाँयालाई डोर्याएजस्तै साथमा लिएर हिँड़ि्छन्। ‘शशिप्रभा स्मृति पुरस्कार’ले सम्मानित उनी एक सशक्त कथाकार हुन्। सन् १९९७ तिर लाब्दा जुनियर हाई स्कूलमा पढ़्दा यस्तै छ कक्षादेखि नै लेख्न शुरु गरेकी हुन्। बिहे पछि लेख्न निक्कै रोकिएपछि सन् २०१८ देखि सक्रिय रुपमा लेख्न थालेको उनी बताउँछिन्। उनका थुप्रै कथा-कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुने गर्छन्।
सन् २०१८ मा १७ वटा कथाहरू भएको उनको पहिलो कृति ‘कथा कतिपय’ प्रकाशित भएको छ। यो पुस्तक बाइबलीय अवधारणामा लेखेकी छिन्। सन् २०२० मा उनको दोस्रो कृति ‘पराकम्पन’ प्रकाशित भएको छ। उनका कथाहरूमा समाजको बदलिँदो अनुहार, राजनीतिको छाँया, आन्दोलनको चेपुवामा परेका घटनाक्रम साथै समाजलाई झक्झक्याउने सन्देशहरू पाइन्छ। यस्तो व्यस्तताबीच साहित्यको लागि कसरी समय निकाल्नु हुन्छ? उनी भन्छिन्, ‘‘साहित्य त सधैं लेख्ने कुरा आएन, मुडअनुसार हुने कुरा हो। समय व्यवस्थापनको कुरा पनि हो।’’ अब ‘कथा कतिपय’को दोस्रो संस्करण केही कथाहरू थपिएर सन् २०२६ को जनवरीमा आउने सम्भावना छ। यसपछिको लागि ‘कविता संग्रह’ पनि तयार भइरहेको छ।
यसरी सामाजिक चेतना, साहित्यिक साधना र उद्यमशील कर्मलाई एउटै सूत्रमा बाँधेर अघि बढ़िरहेकी सन्ध्या आचार्य आज सिटोङ मात्र होइन, समग्र समाजका लागि प्रेरणाको नाम बनेकी छिन्। पुस्तकालयमार्फत ज्ञानको उज्यालो, होमस्टे र फार्मस्टेमार्फत आत्मनिर्भरता, संस्कृतिको संरक्षण र महिलाको सशक्त उपस्थिति स्थापित गर्दै उनले कर्मलाई नै अर्थपूर्ण सम्झना बनाएकी छिन्।












