साहित्य सौन्दर्यलाई पाठकसामु ल्याउने एउटा महत्वपूर्ण भूमिका चित्रकारिताले अख्तियार गर्दछ। नेपाली साहित्यमा बाल साहित्य सिर्जना निकै कमजोर देखिन्छ। यदि बाल साहित्यलाई दर्बिलो र अध्ययनपरक बनाउनु हो भने हामीले सिर्जनाका साथसाथै चित्र लेपनलाई जति ध्यान दिनसक्छौँ, त्यो बाल साहित्य त्यति नै मौलाएर जाने कुरामा हामी निर्धक्क बन्न सक्छौँ। चित्रकारितालाई अलिक कता कता हेपे हेपे जस्तो गरी हेर्ने हाम्रो प्रवृत्तिमा सुधार ल्याउन जरुरी छ। यसै त भारतीय नेपाली साहित्यमा चित्रकारितालाई महत्व दिँदै कार्य गरेका उद्धहरणहरू धेरै कम पाउन सकिन्छ।
कहिलेकहीँ हामी सिक्किम राज्य अधीनस्थ सिक्किम अकादमीको तर्फबाट चित्रकारितामा केही गर्ने जमर्को गरेको देख्छौँ भने समय समयमा चित्रकारितालाई कतिपय निश्चित स्थानहरूमा प्रदर्शनमा राखेर संघ-संस्थाहरूले आफ्नो धर्म निभाएको मात्र देखिन्छ। यदाकदा कतिपय व्यक्तिहरूले आफ्नै बलबुतामा आफ्ना चित्रहरूलाई प्रदर्शनमा राखेको देखिन्छ। यो क्षेत्र दिनदिनै कमजोर बन्दै गइरहेको छ। मैले चिने-जानेका चित्रकारहरूको भनाइ अनुसार बिक्री नै हुँदैन भन्ने गुनासो सुन्ने गरेको छु। यदि यस्तो हो भने कुनै पनि राज्यमा रहेको कला एवं सांस्कृतिक विभागबाट चित्रकारिताको कर्मबाट कुनै फलदायक कदमलाई अघि बढ़ाउन सकिन्छ कि भन्ने मेरो निजी विचार हो। अब भने यस क्षेत्रलाई प्रोत्साहन दिनमा पुराना र अनुभवी संघ-संस्थाहरू अघि आउन जरुरी छ।
सिक्किम राज्यको नाम्ची जिल्ला अन्तर्गत विक्मत् भन्ने ठाउँमा खोर्लोङ भन्ने गाउँमा विगत पाँच वर्षदेखि कला साहित्य संस्थानले राज्य अनि राज्य बाहिरका साहित्यिक स्रष्ठाहरूलाई सम्मान गर्ने कार्य गर्दै आइरहेको छ। यो संस्थानले साहित्य प्रतिभा पुरस्कारसमेत दिँदै आएको छ। यसपाली त्यो अपतन कला साहित्य कला पुरस्कार नामकरण भएको हो। मलाई यहाँ भन्न मन लागेको कुरा के हो भने यो संस्थानले सबैले बिर्संदै गएको अर्को पाटो चित्रकारितालाई पनि साहित्यलाई जत्तिकै महत्व दिँदै उत्कृष्ट आवरण सृजन पुरस्कार पनि दिने गर्छ। आजको बौलाउँदो प्राविधिक युगमा धेरै सर्जकहरूका पुस्तकका आवरणहरू डिजिटलाइजेशन बन्दै गइरहेको विकराल अवस्थामा संस्थानले गरेको कार्यप्रति साधुवाद टक्राउँदछु।
आवरण सिर्जनाका एकजना पारखीदार व्यक्ति साहित्यकार प्रद्युम्न श्रेष्ठ पनि हुन्। उनको प्राविधिक आवरणप्रति घोर गुनासो छ। उनको गुनासो कतिपय स्थितिमा सही पनि देखिन्छ। यसपाली 2025-को कला साहित्य संस्थान, खोर्लोङ, विक्मत्ले दार्जीलिङ निवासी अनुभवी चित्रकार सूरज मोक्तानलाई प्रदान गऱ्यो, जसलाई उचित निर्णय भन्न सकिएला। यसरी नै चित्रकारहरूलाई प्रोत्साहन गर्दै लगियो भने चित्रकारिताले पनि साहित्यले जत्तिकै महत्व पाउनेछ भन्ने आशा राखौँ।
संस्थानबाटै वार्षिक रूपमा प्रकाशन हुँदै आएको प्रतिभा सामयिक साहित्यिक सङ्कलन पाँचौँ अङ्कमा अपतन कला साहित्य पुरस्कारद्वारा अलङ्कृत अनुभवी पत्रकार तथा साहित्यकार अनिता निरौलाको अन्तर्वार्तालाई खुबै चासोका साथ अध्ययन गरेको र पढ्नका निम्ति खोजी गरेको थाहा लाग्यो। राम्रो हो यसरी खोजी गरेर पढ्ने काम गरेको। यहाँ स्मरण गराउँ, सोही पत्रिकामा उत्कृष्ट आवरण सृजन पुरस्कार प्रापक सूरज मोक्तानका बारेमा प्रदीप रसाइलीद्वारा लिखित लेख पनि रहेको छ। त्यहाँ चित्रकार मोक्तानका सम्बन्धमा धेरै कुरा पाउन सकिन्छ। त्यसकारण मेरो आग्रह के हो भने चित्रकारिता र चित्रकारहरूको संरक्षण गर्नका निम्ति उनीहरूद्वारा सिर्जित कलाको सम्मान गर्न जरुरी छ, तबमात्र हामी साहित्यप्रेमी, साहित्यानुरागी कहलाउन सकौंला।
–अर्जुन पीयूष।












